मरिण गाउँपालिका स्तरीय अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता आज देखि सुरु

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, २० फाल्गुन । सिन्धुलीको मरिण गाउँपालिका स्तरीय अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मरिण गाउँपालिका – ३ मथौली खेलमैदानमा सुरु भएको प्रतियोगिताको आईतवार (आज) प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन)ले उद्घाटन गर्नुभएको हो ।

फागुन २७ गते सम्म संचालन हुने प्रतियोगितामा पुरुष, महिला फुटबल, भलिबल र पुरुष ब्याडमिन्टन खेल हुने आयोजक मरिण गाउँपालिका युवा तथा खेलकुद विकास समितिले जनाएको छ ।

प्रतियोगिताको पुरुष फुटबलको विजेताले एक लाख नगद पुरस्कार, शिल्ड, मेडल, प्रमाण पत्र, उपविजेताले ५० हजार नगद पुरस्कार, शिल्ड, मेडल, प्रमाण पत्र हात पार्ने युवा तथा खेलकुद विकास समितिका अध्यक्ष सागर थिङले बताउनुभयो । महिला फुटबल तर्फ विजेताले पनि एक लाख नगद पुरस्कार, शिल्ड, मेडल, प्रमाण पत्र, उपविजेताले ५० हजार नगद पुरस्कार, शिल्ड, मेडल, प्रमाण पत्र जित्ने अध्यक्ष थिङले बताउनुभयो ।

पुरुष भलिबल तर्फको विजेताले २० हजार नगद पुरस्कार, शिल्ड, मेडल, प्रमाण पत्र, उपविजेताले १० हजार नगद पुरस्कार, शिल्ड, मेडल, प्रमाण पत्र हात पार्ने छ भने महिला भलिबल तर्फको विजेताले पनि २० हजार नगद पुरस्कार सहित शिल्ड, मेडल, प्रमाण पत्र, उपविजेताले १० हजार नगद पुरस्कार सहित शिल्ड, मेडल, प्रमाण पत्र जित्ने अध्यक्ष थिङले बताउनुभयो ।
ब्याडमिन्टन तर्फको विजेताले विजेताले १० हजार नगद पुरस्कार र उपविजेताले ५ हजार नगद पुरस्कार सहित शिल्ड, मेडल, प्रमाण पत्र पाउने छ ।

प्रतियोगितामा पुरुष फुटबल तर्फ १३ टिम, महिला फुटबल तर्फ ७ टिम, पुरुष भलिबल तर्फ १२ टिम, महिला भलिबल तर्फ ६ र ब्याडमिन्टनमा ७ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन)ले खेलले व्यक्ति र राष्ट्रको पहिचान गराउने भएकाले अनुशासित भएर खेल खेल्न आग्रह गर्नुभयो ।

अब्बल खेलाडी बन्न अनुशासन र नियमित अभ्यासको जरुरी पर्ने भन्दै उहाँले विद्यालय तहमै खेलाडी उत्पादनको लागि नियमित अभ्यास गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले पालिकास्तरमा खेलाडीहरुको क्षमता विकास र नयाँ खेलाडी उत्पादनमा बर्षेनी बजेटको व्यवस्था गरिएको बताउनुभयो ।

उद्घाटन समारोहमा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामा, हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबा, मरिण गाउँपालिका उपाध्यक्ष बिमला माझी, वडाअध्यक्षहरु लगाएतको उपस्थिती रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्