दुई दिने शिविरमा मरिणका ४ बढी महिलाको स्वास्थ्य जाँच

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, ६ बैशाख । सिन्धुलीको मरिण गाउँपालिकाले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट साढे चार सयभन्दा बढी महिला लाभान्वित भएका छन् ।

मंगलवार र बुधवार गरी दुई दिन भएको शिविरमा गाउँपालिकाको सात वटै वडाका ४९३ महिलाहरुको आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, शंकास्पद क्षयरोगीहरुका लागि निःशुल्क स्क्रिनीङ जाँच, खकार जाँच लगाएतको स्वास्थ्य जाँच र औषधी समेत वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

परीक्षणमा १६ जना महिलामा अपरेशन नै गर्नुपर्ने अवस्थाको पाठेघर खस्ने समस्या भएका विरामी भेटिएको छ ।

पाठेघरको मुखको भिआइए जाँच गर्दा ६ जना पोजिटिभ अर्थात पाठेघरको मुखको क्यान्सर हुन सक्ने सम्भावित विरामी देखिएको मरिण गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख मधु लाखेले जानकारी दिनुभयो ।

मरिण गाउँपालिकाले आयोजना गरेको दुई दिने शिविरमा कपिलाकोट प्राथमिक स्वास्थ्य चौकीका मेडिकल अधिकृत डाक्टर महेश कुमार श्रेष्ठ सहितको तालिम प्राप्त स्वास्थ्यकर्मीहरुको टोलीबाट परिक्षण गरिएको गाउँपालिकाले जनाएको छ ।

वडा नं. ३ को कल्पवृक्ष स्वास्थ्य चौकीमा गाउँपालिकाको वडा नं. १,२,३ र ४ का महिलाहरुको स्वास्थ्य परिक्षण गरिएको थियो भने वडा नं. ७ को जयमंगल आधारभुत स्वास्थ्य केन्द्रमा वडा नं. ५,६ र ७ का महिलाहरुको वास्थ्य परिक्षण गरिएको छ ।

ग्रामीण भेगका अधिकांश महिलाले आफूभित्र रहेको गुप्त रोग अरूले केही भन्लान् कि भन्ने डर र लाजका कारण लुकाउने र पछि त्यही रोग फैलिएर क्यान्सरसम्म हुन सक्ने सम्भावना भएकाले घरदैलोमै सञ्चालित शिविरबाट महिलाले धेरै लाभ लिन सक्ने भएकाले शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?