सिन्धुली, २ फाल्गुन । कमलामाई नगरपालिका ६ मा रहेको नवज्योति बहिरा मा.वि. जसेदमारमा पढ्दै आएका बहिरा विद्यार्थीहरुलाई दूध, दुधबाट बनेका परिकार र अण्डा सहित दिउँसोको खाजा खुवाईएको छ ।
पशु सेवा कार्यालय सिन्धुली र नेपाल डेरी एसोसिएसन जिल्ला शाखा सिन्धुलीको समन्वयमा सरस्वती पूजाको अवसरमा विद्यार्थीहरुलाई खाजा खुवाईएको हो ।
विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकहरु गरी करिव २ सय जनालाई खाजा खुवाईएको नेपाल डेरी एसोसिएसन जिल्ला शाखा सिन्धुलीका अध्यक्ष बलराम अधिकारीले बताउनुभयो ।
कमलामाई नगरपालिका ६ का वडा अध्यक्ष उज्जव कुमार थापाले विद्यार्थीहरुलाई खाजा खुवाउने कार्य निक्कै फलदायी भएको भन्दै खाजा वितरण गर्ने संस्थाहरुलाई धन्यवाद दिनुभयो ।
पशु सेवा कार्यालय सिन्धुलीका प्रभात न्यौपानेले दुध, दुधबाट बनेका परिकार र अण्डाको सेवनले शारीरिक र मानसिक रुपमा स्वस्थ बनाउने बताउनुभयो ।
विद्यार्थीहरुलाई दिवा खाजामा दुध, दुधबाट बनेका परिकारहरु खुवाउन प्रोत्साहन मिलोस भन्ने उदेश्यले खाजा खुवाईएको अध्यक्ष अधिकारीले बताउनुभयो ।