मन्त्री श्रेष्ठद्वारा सिन्धुलीका थामी र हायु जातिलाई फाइवर सिरक वितरण

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, ७ पुष । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले सिन्धुलीका थामी र हायु जातिलाई न्यानो फाइबर सिरक वितरण गर्नुभएको छ ।

मन्त्री श्रेष्ठले सिन्धुलीको घ्याङ्लेख गाउँपालिका वडा नं. २ को बस्तिपुरमा बसोबास गर्दै आएका ९३ घर परिवार र मरिण गाउँपालिका वडा नं. ७ को गैरीगाउँमा बसोबास गर्दै आएका ५१ घर परिवार थामी जातिलाई न्यानो ओढ्ने(फाइबर सिरक) वितरण गरेका हुन् ।

त्यस्तै कमलामाई नगरपालिका वडा नं. १ गुँरासे, कोप्चेमा बसोबास गर्दै आएका लोपोन्मुख १२० घर हायु जातिलाई पनि फाइबर सिरक वितरण गरिएको छ ।

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा प्रति परिवार २ थानको दरले सम्बन्धित पालिकाका प्रमुख वा प्रतिनिधिको रोहवरमा ७ लाख रुपैयाँ बराबरको न्यानो ओढ्ने (फाइवर सिरक) वितरण गरिएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा मन्त्री श्रेष्ठले बस्तिपुरमा निर्माणाधीन थामी सङ्ग्राहलयलाई बागमती प्रदेश सरकारले सहयोग गर्ने र हायु जातिको सङ्ग्राहलय निर्माणको लागि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

साथै, स्कुल, बाटो, बिजुली, खानेपानी लगायतका भौतिक पूर्वाधार निर्माणका लागि बागमती सरकारले सक्दो सहयोग गर्ने वचन पनि दिनुभयो ।

मन्त्री श्रेष्ठले आफूले नेतृत्व गरिरहेको मन्त्रालयको बजेटमा अतिसिमान्तकृत लोपोन्मुख थामी र हायु जातिलाई न्यानो ओढ्ने सिरक वितरण गरेर उनीहरूको घरमा न्यानो भित्र्याउन पाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

उहाँले बागमती प्रदेशको अन्य जिल्लामा बसोबास गर्दै आएका थामी, हायु जातिको अलवा अन्य बनकरिया लगायतका अतिसिमान्तकृत र लोपोन्मुख जातिहरूलाई पनि यही जाडोमा न्यानो ओढ्ने सिरक वितरण गर्ने र उनीहरूको आर्थिक, शैक्षिक, सामाजिक, सांस्कृतिक, राजनीतिक जीवनस्तर उकास्न बागमती प्रदेश सरकार लागि पर्ने कुरा पनि बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?