![](https://sindhulipress.com/wp-content/uploads/2024/06/449356732_1535918967270556_2705834331745498252_n.jpg)
असार १४ गते । सिन्धुली जिल्लाको मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको छ । शुक्रवार एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानको अध्यक्षतामा भएको पूर्ण खोप दिगोपना तथा सुनिश्चितता सम्बन्धी घोषणा कार्यक्रममा उपाध्यक्ष बिमला माझी, प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जी, सात वटै वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, पालिकामा कार्यरत विषयगत शाखाका प्रमुखहरू, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाईका प्रमुख तथा प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो ।
![](https://sindhulipress.com/wp-content/uploads/2024/06/449265325_1535918943937225_947641630287788212_n.jpg)
गाउँपालिकाका कुल १ हजार ८ सय ७ जना बालबालिकाहरुले पूर्ण खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । पूर्ण खोप सुनिश्चितताका लागि पालिकामा पहिलो चरणमा स्वास्थ्यकर्मीबाट घरधुरी सर्वेक्षण गरिएको र दोस्रो चरणमा वडा अध्यक्ष र स्वास्थ्य चौकी इन्चार्जहरूले अनियमित रूपमा सर्वेक्षण गर्दा खोप लगाउन नछुटेको पाएपछि ७ वटै वडालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको मरिण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मधु लाखेले बताउनुभयो ।
त्यस्तै, स्वास्थ्य कार्यालय र स्वास्थ्य शाखाको समूहले सर्वेक्षण गर्दा खोप लगाउन नछुटेको पाएपछि पालिका घोषणा गरिएको उहाँले बताउनुभयो ।
घोषणा कार्यक्रममा प्रमुख अतिथि मरिण गाउँपालिका अध्यक्ष मुक्तानले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंमसेविका र आम जनताको सकृयतामा पूर्णखोप सुनिश्चितता पालिका घोषणा हुन सफल भएको बताउनुभयो ।
खोपसँगै अन्य कार्यक्रमहरूमा पनि यी निकायहरुहरुको महत्त्वपूर्ण भूमिका रहने उहाँको भनाइ छ ।