सिन्धुली, २३ जेठ । जेष्ठ नागरिक अर्थात उमेरले ६८ बर्ष नाघेका ।
चाउरी परेका गाला, फुलेर सेताम्यै भएका कपाल, दात झरेर खाली भएका गिजा यी सब जेष्ठ नागरिकका परिचय हुन् । जेष्ठ नागरिक शारीरिक र मानसिक रुपमा कमजोर हुन्छन् ।
अरु जसरी न खान सक्छन्, न बोलीचाली नै गर्न । झन हिडडुल गर्ने कुरा त परकै भयो । घरमा एक्लै बस्नु पर्ने, सुतेर दिन विताउनु पर्ने लगाएत थुप्रै समस्या र बाध्यता भएका जेष्ठ नागरिकहरु हाम्रो गाउँ समाजमा रहेका छन् ।
सिन्धुलीको मरिण गाउँपालिकाले यस्ता जेष्ठ नागरिकहरुलाई भने समय विताउने साथी बनोस भनेर रेडियो उपहार दिएको छ । गाउँपालिकाले रेडियोसँगै छाता पनि उपहार दिएर जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।
गाउँपालिकाले आज वडा नम्बर एकका १ सय ४४ जना र वडा नम्बर दुईका २ सय १२ गरी ३५६ जना जेष्ठ नागरिकलाई रेडियो र छाता उपहार दिएर सम्मान गरेको हो ।
रेडियोमा बज्ने समाचार, सुचना सुनेर आफ्नो पालिकासँगै देशविदेशका घटनाहरुको बारेमा जानकारी हुनुका साथै गित संगित सुनेर रमाईलो समेत गर्न मिल्ने भएकाले जेष्ठ नागरिकहरुको सारथीको रुपमा रेडियो उपहार दिईएको मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले बताउनुभयो ।
‘जेष्ठ नागरिकहरु अरु जसरी हिडडुल गर्न सक्दैनन् । घरमा कहिले काँही एक्लै बस्नु पर्छ । घर मात्र बसी रहदा एक्लो भएर समय विताउन दिक्क लाग्ने हुन्छ । त्यस कारण रेडियोमा बज्ने समाचार, सुचना सुनेर देश विदेशका घटनाक्रमहरु जान्न, बुझ्न पाउछन र गित संगित सुनेर रमाईलो पनि गर्छन भन्ने ठानेर रेडियो उपहार दिएका हौं’ अध्यक्ष मुक्तानले भन्नुभयो ।
रेडियो र छाता उपहार पाए पछि जेष्ठ नागरिक पनि खुसी भएका छन् । वडामा भत्ता लिन आउँदा घाम,पानीको समस्या नहोस् भनेर रेडियोको साथमा छाता पनि उपहार दिईएको मरिण गाउँँपालिकाका उपाध्यक्ष बिमला माझीले बताउनुभयो ।
रेडियो र छाता उपहार पाए पछि जेष्ठ नागरिक पनि खुसी भएका छन् ।
उपहार वितरण कार्यक्रममा एक नम्बर वडाका वडाअध्यक्ष हिरा बहादुर गुर्मछान, दुई नम्बर वडाका वडाअध्यक्ष कमल कुमार आलेले रेडियो बुढाबुढी आमाबुवाहरुको साथी बन्ने बताउनुभयो ।