सिन्धुली, ८ जेठ । सुनकोशी गाउँपालिका –६ का शिव कुमार तोलाङ्गे कृषि प्राविधिक हुन् । उनीसँग कमलामाई नगरपालिका ५ मा रहेको जनज्योती माध्यमिक विद्यालय फोस्रेटारबाट वि.स.२०७३ सालमा टिएस.एल.सी अर्थात कृषि जे.टि.ए. पास गरेको प्रमाण पत्र छ ।
प्रमाण पत्र हातमा लिएर जागिर खाने अवसर खोजी रहेका तोलाङ्गेले कमलामाई नगरपालिकामा जे.टि.ए. कृषि पदमा जागिर खुलेको सुचना पाए । कमलामाई नगरपालिकाले वि.स. २०७९ भदौं २७ गते जे.टि.ए. भेटेरीनरी र जे.टि.ए. कृषि पदमा सात÷सात जनालाई करारमा भर्ना लिने सम्बन्धि सूचना निकालेको थियो ।
सुचना पाउनासाथ तोलाङ्गेले पाँच सय रुपैयाँ शुल्क तिरेर दरखास्त फारम बुझाएँ । सूचनामा दरखास्त दिने मितिको अन्तिम दिनको भोली पल्ट अर्थात सूचना प्रकासन भएको १६ औँ दिनमा सम्पर्क गर्ने दिन र सोही दिन परिक्षा हुने मितिको जानकारी गराईने उल्लेख थियो ।
दरखास्त बुझाउने मिति सकिए पछि नगरपलिकाले परिक्षा हुने मिति तय गर्छ भन्नेमा तोलाङ्गे ढुक्क थिए । तर परिक्षा उत्तिर्ण गरेर जागिर खान्छु भन्ने तोलाङ्गेले बुनेको सपना, सपना नै रह्यो । दरखस्ता बुझाएको दुई बर्ष पुग्न लाग्दा समेत परिक्षाको अत्तोपत्तो नभए पछि उनको सपना अधुरै रहेको हो ।
१६ औँ दिनमा परिक्षा हुने दिनको बारेमा जानकारी गराउनेछौं भनी १५ दिने म्याद राखेर सूचना निकालेको नगरपालिकाले एक बर्ष ९ महिना पुगे पनि अहिले सम्म परिक्षा हुने वा नहुने कुनै जानकारी दिएको छैन् ।
नगरपालिकाले कि परिक्षाको मिति तोक्नुपर्ने कि भने दरखास्त बुझाउँदा तिरको राजश्व फिर्ता गर्नुपर्ने तोलाङ्गेको माग छ । ‘हामीले फारम बुझाएको २० महिना हुन लाग्यो । अहिले सम्म परिक्षा भएको छैन । नगरपालिकाले कि परिक्षा गरोस् होईन भने हामीले तिरेको राजश्वको ब्याज सहित फिर्ता गर्नुपर्छ । हामी टाढाबाट गएर दरखास्त दिएका छौं । जादा लागेको खर्च पनि व्यहोर्नुपर्छ नगरपालिकाले’ उनले भने ।
वि.स. २०७९ असार ३० गते विहान नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको अध्यक्षतामा बसेको नगरकार्यपालिकाको बैठकले नगरक्षेत्रमा कृषि तथा पशु सम्बन्धि कार्यक्रम संचालनको लागि जनशक्तिको कमि भएको ठहर गर्दै कृषि र पशु चौथो तहमा सात÷सात जना प्राविधिक करारमा नियुक्ती गर्ने निर्णय गरेको छ ।
नगरकार्यपालिकाको सोही निर्णयलाई कार्यान्वयन गर्न निकालिएको सुचना अनुसार जे.टि.ए. कृषिमा २ सय १ जना र जे.टि.ए. पशुमा १ सय ७६ जनाले दरखास्त दिएका छन् । दुवै पदमा दरखास्त दिएका ३ सय ७७ जनाबाट ५ सयका दरले कुल १ लाख ८८ हजार ५ सय रुपैयाँ नगरपालिकाले राजश्व उठाएको छ ।
तोलाङ्गे जस्तै दरखास्त दिएका अरु ३ सय ७६ जना अहिले सम्म परिक्षा नगराएकोमा नगरपालिका प्रति सशंंकित छन् ।
कमलामाई नगरपालिकाका उपप्रमुख मन्जु देवकोटालाई अहिले सम्म किन परिक्षा नभएको भनेर प्रश्न गर्दा तत्कालिन प्रमुख प्रशासकिय अधिकृत सूर्य प्रसाद दाहाललाई सबै विधि प्रक्रिया पुराएर परिक्षा गर्ने जिम्मेवारी दिएईएको बताईन ।
जिम्मेवारी पाए पनि प्रशासकिय अधिकृत दाहालले परिक्षा नगराएको उपप्रमुख देवकोटाको भनाई छ । नगरप्रमुख उपेन्द्र कुमार पोखरेल अहिले विदेशभ्रमणमा रहेकाले फर्किए पछि यस बिषयमा छलफल गरेर अगाडी बढ्ने उपप्रमुख देवकोटाले बताईन ।
प्रमुख प्रशासकीय अधिकृत दाहाल सेवानिवृत भइसकेका छन् ।
अहिले सुमन कुमार कार्की नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत छन् । आफु भर्खर आएकाले यस बिषयमा जानकारी नभएको प्रशासकिय अधिकृत कार्कीले बताए । यस विषयमा कार्यालयमा बुझ्ने प्रशासकीय अधिकृत कार्कीले बताए ।