
सिन्धुली, २ माघ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ मा रहेका घले समुदायले लिःल (घले ) ल्होसर मनाएका छन् ।
वडा नम्बर १ को कोक्टीमा हिजो शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेर लिःल (घले ) ल्होसर मनाएका हुन ।
ल्हो भनेको वर्ग र सर भनेको सर्ने काम हो । १२ वटा वर्गचक्र घुमिरहने भएकाले हरेक वर्ष माघ १ गते सर्ने र यसलाई घले समुदायले नयाँ वर्षको स्वागतका रुपमा मनाउने गर्दछन् ।
हरिहरपुरगढी गाउँपालिका १ मा रहेको लिःल फङ (घले समाज) को आयोजनामा भएको ल्होसर कार्यक्रममा हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा शुभकामना आदान प्रदानका क्रममा गाउँपालिका अध्यक्ष वाइबाले वडा नम्बर १ को दुर्गम कोक्टीमा सडक नहुदाँ स्थानीयहरुले सास्ती खेप्नु परी रहेको बताउदै यस क्षेत्रमा सडक निर्माणको लागि पहल गर्ने बताउनुभयो ।
घले समाजका अध्यक्ष चिन बहादुर घलेको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र हरिहरपुरगढी गाउँपालिका कमिटिका कोषाध्यक्ष रमेश घलान लगाएत घले समुदायका स्थानियहरुको उपस्थिती रहेको थियो ।
हरिहरपुरगढी गाउँपालिका १ कोक्टीमा करिब १० घर घलेहरुको बसोबास रहेको बताईन्छ ।