
सिन्धुली, १९ पुष । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले पैसाको अभावमा उच्च शिक्षा पढ्न बन्चित भएकाहरुलाई छात्रवृत्ति दिने भएको छ ।
गाउँपालिकाले आज एक सुचना निकालेर स्नातक तह पढ्न चाहानेहरुलाई छात्रवृत्ति लिन आवेदन दिन अनुरोध गरेको छ ।
पैसा अभावले कक्षा १२ भन्दा माथि पढ्न नपाएका महिला, दलित, मेधावी, अति विपन्न, अपाङ्गता भएका बिद्यार्थीहरुलाई उच्च शिक्षा पढ्नको लागि छात्रवृत्तिको दिइने हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेलले बताउनुभयो ।

उहाँले हरिहरपुरगढी गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ को गाउँ सभाबाट उच्च शिक्षा अध्ययन छात्रवृत्ति कार्यक्रम पारित गरेको बताउनुभयो । कक्षा १२ पास वा सो भन्दा माथि पढेका विद्यार्थीहरुले सुचना प्रकासन भएको मितिले १५ दिन भित्र छात्रवृत्तिका लागि आवेदन दिन सक्ने उहाँले बताउनुभयो ।
छात्रवृत्ति लिनको लागि हरिहरपुरगढी गाउँपालिका भित्र स्थायी बसोबास रहेका विद्यार्थीहरुले मात्रै आवेदन दिन पाउने सुचनामा उल्लेख छ ।
छात्रवृत्ति लिनको लागि शैक्षिक योग्यताको प्रमाण–पत्र, नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपी, क्याम्पस भर्ना भएको वा अध्ययनरत खुल्ने कागजात वा सिफारिस, बिपन्नता खुल्ने कागजात वा सम्बन्धित बडा कार्यालयको सिफारिस, अपाङ्गता खुल्ने कागजातको प्रतिलिपि १÷१ थान बुझाउनु पर्ने गाउँपालिकाले जनाएको छ ।