छाप, सिन्धुली, ६ जेठ । सिन्धुलीको मरिण गाउँपालिकाले स्नातक तह उत्तीर्ण गरि विवाह गर्ने महिलालाई १ लाख रूपैयाँ पुरस्कार दिएको छ ।
वर्तमान जनप्रतिनिधि निर्वाचित भएको दुई बर्ष पुगेको अवसरमा आज आयोजित कार्यक्रममा गाउँपालिकाले स्नातक तह उत्तीर्ण गरि विवाह गर्ने दुई जना महिलालाई जनही १ लाख रूपैयाँका दरले प्रोत्साहन रकम वितरण गरेको हो ।
एक लाख रूपैयाँ प्रोत्साहन रकम पाउनेमा मरिण गाउँपालिका वडा नम्वर ४ का मेलिना माझी र वडा नम्बर ७ का टीका कुमारी श्रेष्ठ रहेका छन् ।
पढाइ बिच्चैमा छोडेर बालविवाह गर्ने गलत कार्यलाई रोकथाम गर्न स्नातक तह पास गरेर विवाह गर्ने महिलालाई प्रोत्साहन रकम दिईएको मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले बताउनुभयो ।
प्रोत्साहन रकम वितरण गर्दै मरिण गाउँपालिका अध्यक्ष मुक्तानले प्रोत्साहन रकम पाउने आसाले महिलाहरूले पढाइलाई निरन्तरता दिनेक्रम बढ्ने र बालविवाह कम हुदै जाने विश्वास व्यक्त गर्नुभयो ।
प्रोत्साहन रकम पाउने माझी र श्रेष्ठले २०७९ सालमा स्नातक तह उत्तीर्ण गर्नुभएको थियो ।
गाउँपालिकाले सुचना निकाले प्रोत्साहन रकम लिनको लागि आवेदन माग गर्दा दुई जनाको मात्रै आवेदन परेको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विमला माझी, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, सात वटै वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न दलका नेता कार्यकर्ताको उपस्थीती रहेको थियो ।