सिन्धुली, २२ पुष । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सुनकोशी मरिण डाइभर्सन आयोजनाका कारण आफँहरुको खानेपानीमा समस्या भएको स्थानियहरुले गुनासो गरेका छन् ।
कमलामाई नगरपालिका २ कुसुमटारका स्थानियहरुले सुनकोशी मरिण डाइभर्सन आयोजनाले वेवास्ता गर्दा गाउँमा खानेपानीको समस्या भएको बताएका छन् ।
सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ खनेपछि कुसुमटारका स्थानियले प्रयोग गर्दै आएको धाराको मुहानमा पानी सुक्दै जादा अहिले गाउँमा खानेपानीको अभाव भएको कुसुमटारका स्थानिय धनराज थिङले गुनासो गर्नुभयो ।
गाउँमा खानेपानीको अभाव हुन थालेपछि आज सोमवार स्थानियहरु सिन्धुलीमाढीमा रहेको सुनकोशी मरिण डाइभर्सन आयोजनाको कार्यालयमै पुगेर तत्काल खानेपानीको व्यवस्था गर्न माग गरेका छन् ।
२०७९ असोज २८ गतेबाट यस आयोजनाको सुरुङ खन्ने काम सुरु गरिएको थियो । आयोजनाको सुरुङ खनेर कुसुमटारको खानेपानीको महान झोरखोला शिरमा पुगेपछि पानी सुक्दै गएको अर्का स्थानिय विष्णु श्रेष्ठले बताउनुभयो ।
सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङ खन्नु अघि २४ सै घण्टा स्वच्छ खानेपानी धारामा आउने गरेको थियो । तर सुरुङ खन्न थालेपछि अहिले पानी सुकेर दिनमा दुई घण्टा पनि धारामा पानी आउन छाडेको स्थानिय श्रेष्ठको भनाई छ ।
सुनकोशी मरिण डाइभर्सन आयोजनाले सुरुमा स्थानियहरुलाई आवश्यक पर्ने सडक, खानेपानी, सिँचाईको सुविधा, रोजगारी लगाएतका कुराहरु उपलब्ध गराउछौँ भने पनि अहिले खानेपानीको अभाव हुदाँ आयोजनाले वेवास्था गरेको अर्का स्थानिय मदन थिङको गुनासो छ ।
गएको बर्षको हिउँदमा कुसुमटारका स्थानियले बर्षौ देखि प्रयोग गर्दै आएको मुहानमा पानी सुकेर खानेपानीमा समस्या भएको थियो ।
त्यसबेला सुनकोशी मरिण डाइभर्सन आयोजनाले मरिण खोलामा इनार बनाएर त्यहाँको पानी विद्युत मोटरबाट करिब ५ सय मिटर माथि लिफ्ट गरेर ट्याङकीमा पुर्याइ दिएको थियो ।
तर गएको असारमा मरिण खोलामा आएको बाढीले ईनार बगाएपछि अहिले सम्म उक्त इनारको मर्मत नभएको कुसुमटार खानेपानी उपभोक्ता समितिका अध्यक्ष नारायण थिङले बताउनुभयो ।
अध्यक्ष थिङका अनुसार कुसुमटारका झन्डै एक सय घरधुरीले अहिले खानेपानीको अभाव झेलिरहेको छन् । इनारबाट पानी तानेको विद्युत महसुल सुनकोशी मरिण डाइभर्सन आयोजनाले तिर्नुपर्ने भए पनि अहिले सम्म त्यो रकम समेत आयोजनाले तिरेको छैन् ।
तीन महिनाको विद्युत महसुल करिब २५ हजार रुपैयाँ रकम आयोजनाले नतिर्दा विद्युत प्राधिकरणले लाईन नै काटी दिएको अध्यक्ष थिङले बताउनुभयो ।
सुनकोशी मरिण डाईभर्सन आयोजनाका सिनियर डिभिजन हाइड्रोलिजिष्ट विश्वबन्धु केसीले स्थानियहरुको खानेपानीको अभाव हटाउन आयोजनाले छिट्टै काम सुरु गर्ने बताउनुभएको छ