
बुद्ध नेपाली
सिन्धुली, १० बैशाख ।
सिन्धुलीको सुनकोशी गाउँपालिकामा आज देखि एकिकृत घुम्ती सेवा शिविर तथा सार्वजनिक सुनुवाई कार्यक्रम सुरु भएको भएको छ ।
आगामी बैशाख १८ गते सम्म संचालन हुने निःशुल्क एकिकृत घुम्ती सेवा शिविर तथा सार्वजनिक सुनुवाई कार्यक्रम सुनकोशी गाउँपालिका वडा नम्बर १ दुम्जा पानीपोखरीबाट सुरु भएको हो ।
घुम्ती सेवा शिविरको पहिलो दिन एक नम्बर वडाका तीन सय बढी नागरिकहरु सेवा लिएर लाभान्वित भएका छन् । शिविरमा वडा नम्बर एकका ७५ जना नागरिकले प्रेसर, सुगर तथा नसर्ने रोगको चेकजाँच सहित स्वास्थ्य सेवा लिएका छन् ।
शिविरमा १ सय ५१ जना किसानले मौसमी तथा बेमौसमी तरकारीहरु काक्रा, करेला, बोडी, भिन्टी, फर्सी, धनिया, सिमी लगाएतको वीउबिजन, ९७ जनालाई गाईभैसी, बाख्रा, कुखरा, बङ्गुरको नाम्ले, जुका, ज्वरो, डाइरिया लगाएत रोगहरुको औषधी वितरण गरिएको सुनकोशी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नविन न्यौपानेले बताउनुभयो ।
शिविरमा १४ जनालाई जेष्ठ नागरिक परिचय पत्र वितरण र २ जनाको व्यवसाय दर्ता समेत गरिएको छ । घुम्ती शिविर मार्फत वडा कार्यालयमै सेवा पाए पछि स्थानिय हर्षित भएका छन् ।
स्थानीय नागरिकलाई घरदैलोमै सेवा प्रवाह गर्नका लागि घुम्ती शिविर आयोजना गरिएको सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहारा दाहालले बताउनुभयो ।
सुनकोशी गाउँपालिकाका उपाध्यक्ष कपिल कुमार कोईराला, एक नम्बर वडाअध्यक्ष राम कुमार श्रेष्ठले स्थानिय सरकारले नागरिकलाई घरदैलोमै सेवा उपलब्ध गराउछ भन्ने कुरालाई आश्वस्त पार्न घुम्ती शिविर आयोजना गरिएको बताउनुभयो । शिविरमा कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, गाउँपालिकाका कर्मचारीहरु, स्थानिय लगाएतको उपस्थिती रहेको थियो ।