सुनकोशी गाउँपालिकामा एकिकृत घुम्ती सेवा शिविर तथा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन हुने

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, ५ बैशाख । सिन्धुलीको सुनकोशी गाउँपालिकाले प्रत्येक वडामा एकिकृत घुम्ती सेवा शिविर तथा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गर्ने भएको छ ।

बिहीवार बसेको गाउँकार्यपालिकाको बैठकले बैशाख १० देखि १८ गते सम्म निःशुल्क एकिकृत घुम्ती सेवा शिविर तथा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो । गाउँपालिकाले सुचना निकालेर शिविरमा आइ सेवा लिन स्थानीयबासीलाई आग्रह गरेको छ ।

स्थानीय नागरिकलाई घरदैलोमै सेवा प्रवाह गर्नका लागि घुम्ती शिविर आयोजना गरिएको सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले बताउनुभयो । शिविरमा स्वास्थ्यसँग सम्बन्धित प्रेसर, सुगर तथा नसर्ने रोगको चेकजाँच, व्यवस्थापन तथा परामर्श सेवा निःशुल्क दिईने गाउँपालिकाले जनाएको छ ।

जेष्ठ नागरिक तथा अपाङ्गता परिचय–पत्र वितरण र परामर्श सेवा, पशुपन्छीका लागी औषधि वितरण, मौसमि तथा बेमौसमि तरकारीको बिउविजन वितरण तथा कृषि प्रसार सम्बन्धि परामर्श सेवा दिईने सुचनामा उल्लेख छ । त्यस्तै शिविरमा व्यवसाय दर्ता/ उद्योग दर्ता नविकरण तथा परामर्श सेवा, सामाजिक सुरक्षा तथा पञ्जीकरण सँग सम्बन्धित घटना दर्ता सम्बन्धि कार्य तथा परामर्श सेवा दिईने गाउँपालिकाले जनाएको छ ।

शिविर मै गाउँपालिकाबाट उपलब्ध गराईएको वस्तु तथा सेवा सम्बन्धि कार्यको सुझाव, गुनासो तथा प्रतिक्रिया संकलनको लागी सार्वजनिक सुनुवाई कार्यक्रम समेत आयोजना गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताउनुभयो ।

निःशुल्क एकिकृत घुम्ती सेवा शिविर तथा सार्वजनिक सुनुवाई कार्यक्रम गाउँपालिकाको वडा नम्बर १ को कार्यालय दुम्जा, वडा नम्बर २ को पन्चकन्या मावि, वडा नम्बर ३ को कार्यालय गुठ बजारमा संचालन हुनेछ ।

वडा नम्बर ४ को कार्यालय, वडा नम्बर ५ को गणेश मावि थापाथुम्का, वडा नम्बर ६ को भिमसेन प्रावि र वडा नम्बर ७ को कार्यालय मझुवामा शिविर तथा कार्यक्रम संचालन हुनेछ । कार्यक्रम विहान १० बजे देखि ४ बजे सम्म संचालन हुने जनाईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्