बुद्ध नेपाली
सिन्धुली, ७ माघ ।
सिन्धुली जिल्लामा उत्पादीत विभिन्न रैथाने बालीहरुको आज प्रदर्शन गरिएको छ । दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा सप्ताहको अवसरमा कृषि ज्ञान केन्द्र सिन्धुलीको आयोजना, सौगात लघु उद्यम सहकारीको साझेदारीमा रैथाने बालीहरु प्रदर्शन गरिएको हो ।
जिल्लाका विभिन्न ठाउँमा उत्पादन भएका राजमा, लाप्चे, जौ, सेतो मकै, कोदो, गहत, मस्याङ, तितेफापर, विभिन्न जातका पिडालु, मार्सि चामल, सिस्नो, किभि, घरतरुल लगाएत गेडागुडी, कन्दमुल र चडीबुडी जन्य रैथाने बालीहरुको प्रदर्शन गरिएको छ । पछिल्ला वर्षहरुमा नेपालमा लोप हुँदै गएका रैथाने बालीहरुको उपयोग र खेती गर्दा हुने फाईदाको बारेमा प्रचारप्रसार गर्न प्रदर्शन गरिएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ ।
रैथाने बालीमा प्रचुर पौष्टिक तत्व उपलब्ध हुने, कम लगानी र सीमान्त जमिनमा गर्न सकिने, स्थान विशेष ठाउँमा हुनेगरी जलवायु अनुकूल बालीका रुपमा पनि लगाउन सकिने भएकाले महत्वपूर्ण बालीका रुपमा लिइन्छ । प्रदर्शनमा राखिएको रैथाने बालीहरुको अवलोकन गर्दै प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन)ले पछिल्लो समय रैथाने बालीहरु लोप हुनेक्रम बढेकाले यसको संरक्षण नागरिकले मात्रै गर्न नसक्ने भएकाले सरकारले नै खास योजना बनाउनु पर्ने बताउनुभयो ।
उहाँले कृषि, पशुपालन र फलफुल खेतीमा सरकारले उल्लेख्य लगानी केन्द्रित गरी रहेको बताउनुभयो । जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामा, उपप्रमुख शान्ता कार्की, प्रमुख जिल्ला अधिकारी भरत खनालले लोप हुदै गएको रैथाने बालीको खेतीपाती गरेर देशमा बढ्दै गएको बेरोजगारीको समस्या हल गर्न सबै पक्ष गम्भिर भएर लाग्नुपर्ने बताउनुभयो ।