सिन्धुलीमा पछिल्ला वर्षहरूमा तीजका नाममा उच्छृङ्खलता बढ्दै, एक महिना अघि देखि दर खाने कार्यक्रम

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, २३ भदौं । पछिल्लो केही बर्ष यता सिन्धुलीमा तिज आउनु भन्दा एक महिना अघि देखि दर खाने प्रवृक्ति बढ्दै गएको छ ।

तीज आउनु भन्दा करिव एक महिनादेखि अहिलेसम्म सामाजिक संजाल र शहर बजार हेर्ने हो भने मुख्यतया तीजको तडक भडक बाहेक अरु बिषय छायाँमा परेका छन् ।

पछिल्ला वर्षहरूमा तीजका नाममा उच्छृङ्खलता र तडक–भडक मौलाउँदै गएको छ । विशेष गरी शहरी क्षेत्रमा एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तिजको संस्कृतिलाई विकृति बनाउँदै लगेका छन् ।

सबै तिर रातो सारी, गरगहना, नाच गान, भोजभतेरले शहर बजारका हरेक जसो घर, टोल, बस्ती र बजार तातेका छन् ।

जिल्लाका स्थानिय तह, निजी तथा सरकारी विद्यालय, सहकारी, संघसंस्था, राजनितिक दलका महिला संगठन, इन्सुरेन्स कम्पनीहरु लगाएतका निकायहहरुले अहिले कार्यक्रमको आयोजना नै गरेर तिजको दर खाने तथा खुवाउने गरी रहेका छन् ।

कमलामाई नगरपालिकाकाले तिज कार्यक्रम मनाउन १४ वटा वडालाई २५ हजार रुपैयाँका दरले बजेट नै छुट्याएको छ । सोही बजेटबाट अहिले नगरपालिकाको विभिन्न वडाहरुले तिजको दर खाने कार्यक्रमको आयोजना गर्दै आएका छन् ।

तीज नेपाली महिलाहरुको लागि सबै भन्दा महान चाढ यो । यो बिषयमा कसैको दुई मत छैन र हुनु पनि हुँदैन । तर, त्यसो भन्दैमा तीजलाई सबैभन्दा खर्चिलो, तडकभडक र लामो चाढ बनाउनु पर्छ भन्ने पनि हैन ।

हिन्दु नेपाली संस्कृतिमा तीजको ठूलो महत्व छ । त्यसो त तीज मात्रै किन हरेक चाढ पर्व धर्म र संस्कृतिका हिसावले उत्तिकै महत्वपूर्ण हुन्छन सबै नेपालीको लागि ।

तर, अहिले नेपाली हिन्दुहरुका लागि सबै भन्दा ठूलो चाढमानिने दशैं वा तिहार भन्दा तीज लामो, खर्चिलो र तडक भडकपूर्ण देखिएको छ ।

यो बिषय केहीका लागि राम्रो लाग्न पनि सक्छ, तर धेरैका लागि सामाजिक हिसावले चिन्ताको बिषय बनेको गुनासो सुनिन्छ । तीजको अवसरमा नांचगान गर्ने, दिदी बहिनी माइती घर जाने, भेटघाट गर्ने, राम्रो लुगा लगाउने आदि प्रचलनसंस्कृतीसंग सम्बन्धित छन् ।

तर, अहिले यो प्रचलन हुने खाने महिलाले तडक भडक गर्ने र सामाजिक संजालमा देखाउने पर्वको रुपमा चिनिन थालेको छ ।

परापूर्वकालमा देवी पार्वतीले शीवलाई पतिको रुपमा पाउन निराहार ब्रत बसेको र कामना पुरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहिताहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तिजमा ब्रत बस्ने चलन रहेको छ ।

यस बर्षको तिज भदौं ३१ गते देखि सुरु हुदैछ । भदौं ३१ गते दर खाने र असोज १ गते हरितालिका तिजको व्रत बस्ने दिन रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्