सिन्धुलीमा चुरे उत्थान आयोजनाका कामहरूको अनुगमन

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली असार १७
चुरे उत्थानशील आयोजना, प्रदेश आयोजना व्यवस्थापन इकाई बागमती प्रदेश सिन्धुलीले सञ्चालन गरिरहेका विभिन्न विकास गतिविधिहरूको सोमवार जिल्ला समन्वय समिति, आयोजना प्रमुख र स्थानीय जनप्रतिनिधिहरूको टोलीले अनुगमन गरेका छन्।
अनुगमनका क्रममा सिन्धुलीका विभिन्न पालिकामा चुरे क्षेत्रभित्र खोला नियन्त्रण, वृक्षारोपण, पोखरी निर्माण, बाढी नियन्त्रणलगायतका कार्यक्रमहरुको अवलोकन गरिएको हो।
चुरे उत्थान कार्यक्रम कोशी, मधेश र बागमती प्रदेशमा सन् २०२० देखि २०२७ सम्म सञ्चालन भइरहेको छ। बागमती प्रदेशअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका, दुधौली नगरपालिका र तीनपाटन गाउँपालिकाका चुरे क्षेत्रहरूमा आयोजना सशक्त रूपमा कार्यान्वयनमा रहेको चुरे उत्थान आयोजनाका सिन्धुली प्रमुख चूडामणि खतिवडाले जानकारी दिनुभयो।
उहाँका अनुसार, आयोजना अन्तर्गत सामुदायिक वन उपभोक्ता समितिहरूसँग सहकार्य गर्दै कृषि वन पाठशाला स्थापना गरी कृषि तथा वन समन्वयमा आधारित कार्यक्रमहरू सञ्चालन गरिएको छ। यिनमा जलवायु परिवर्तन अनुकूलन, वृक्षारोपण, घाँस निःशुल्क वितरण, बाढी नियन्त्रण र कृषि तालिमजस्ता कार्य समावेश छन्।
गत वर्ष ८ वटा र यस वर्ष ६ वटा गरी जम्मा १४ वटा कृषि वन पाठशालाहरू सञ्चालनमा रहेको जानकारी दिंदै प्रमुख खतिवडाले १५ वटा कार्यको एस्टिमेट तयार भइसकेको बताए। साथै, कृषकहरूलाई लक्षित गर्दै ६ प्रकारका घाँसको नर्सरी स्थापना गरी वितरण कार्यक्रम पनि सञ्चालनमा रहेको छ।
पोखरी निर्माण मार्फत पानी जमिनमुनि पठाएर बाढी र पहिरो न्यूनीकरण, कटान रोकथाम तथा जमिनको उपयुक्त उपयोग हुने विश्वास गरिएको आयोजनाले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्