
सिन्धुली, ८ असोज । सिन्धुलीमा चाडपर्व लक्षित गरेर बजार अनुगमन सुरु गरिएको छ ।
जिल्लास्तरीय संयुक्त बजार अनुगमन टोलीले जिल्लाको मुख्य मुख्य बजार क्षेत्रमा चाडपर्व लक्षित खाद्य तथा किराना पसलहरुको अनुगमन सुरु गरेको हो ।
जिल्ला सदरमुकाम सहित पालिकाहरुको बजार क्षेत्रमा रहेका पसलहरुमा नजिकिँदै गएको दशैं, तिहार लगाएत चाडपर्वमा हुन सक्ने मुल्यवृद्धि, उपभोग्य म्याद गुज्रेका खाद्य सामाग्रीहरुको किनबेच, लेवल स्पष्ट नभएका खाद्य सामाग्रीहरुको किनबेच हुन नदिन र खाद्य वस्तुमा कृतित्र अभाव सिर्जना हुन नदिन बजार अनुगमन गर्न सुरु गरिएको छ ।
जिल्लास्तरीय संयुक्त बजार अनुगमन टोलीले आज समेवार मरिण गाउँपालिकाको मुख्य मुख्य बजारका खाद्य तथा किराना पसलहरुको अनुगमन गरेको छ ।
मरिण गाउँपालिकाको छाप, धमिले लगाएतका ठाउँको बजार अनुगमनका क्रममा विभिन्न पसलहरुमा २९ हजार ८५५ रुपैयाँ बराबरको उपभोग्य म्याद नाघेको सामाग्रीहरु भेटिएकाले जफत गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय, सिन्धुलीका प्रमुख प्रविन श्रेष्ठले जानकारी दिनुभयो ।

‘ हाम्रो नियमित हुने बजार अनुगमन जिल्लाका विभिन्न ठाउँमा निरन्तर भईरहेका छन् । अहिले चाडपर्वहरु पनि नजिकिँदै गएका छन् । यस्तो बेला बजारमा हुने धेरै थरीका विकृतीहरुलाई कम गर्न बजार अनुगमनलाई तिव्रता दिएका छौं ।’ उहाँले भन्नुभयो ।
सोमवार नै धुराबजारमा अनुगमन गर्नेक्रममा राकेश शाहले संचालन गरेको राम जानकी खाद्यान्न पसलमा लेबल नभएको र खरिद विल समेत नभएको सामान भेटिएकाले उक्त पसललाई १५ हजार रुपैयाँ जरिवना गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।
गएको शुक्रवार फिक्कल गाउँपालिकाको मुख्य बजारका खाद्य तथा किराना पसलहरुको अनुगमन गरिएको प्रमुख श्रेष्ठले बताउनुभयो । गुनासो आएको बजारहरुमा पहिलो प्राथमिकता दिएर बजार अनुगमन गरिने र दशैं अघि सम्म जिल्लाका सबै पालिकाको मुख्य बजारहरुमा अनुगमन गरिने प्रमुख श्रेष्ठले बताउनुभयो ।
अनुगमनका क्रममा अनिवार्य रुपमा मुल्यसूची सबैले देख्ने गरी राख्न, व्यवसाय दर्ता गरी मात्र संचालन गर्न, अनिवार्य रुपमा खरिद विल लिन तथा विक्री विल जारी गर्न, म्याद नाघेका सामान नबेच्न निर्देशन दिइएको प्रमुख श्रेष्ठले बताउनुभयो ।
त्यस्तै फर्मको उद्देश्य भन्दा बाहेक सामानहरु राखी विक्री वितरण नगर्न, थोक विक्रेतालाइ म्याद नाघेका सामानहरु राख्न छुट्टै कोठाको व्यवस्था गर्न समेत निर्देशन दिएको उहाँले बताउनुभयो ।
बागमती प्रदेश, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, जिल्ला प्रशासनका कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय, मरिण गाउँपालिका, उद्योग वाणिज्य संघका प्रतिनिधि, सुरक्षा निकाय, संचारकर्मी लगायत अन्य सरोकारवाला निकायहरुको सहभागितामा बजार अनुगमन गरिएको उहाँले बताउनुभयो ।