
बुद्ध नेपाली
सिन्धुली, ७ माघ । सिन्धुलीका उत्कृष्ट तीन जना किसानलाई राष्ट्रपति उत्कृष्ट किसान पुरस्कार कार्यक्रम मार्फत नगद सहित सम्मान गरिएको छ । कृषि ज्ञान केन्द्र सिन्धुलीले जिल्लाका उत्कृष्ट कृषकका रूपमा छनोट भएका तीन किसानलाई आज आईतवार १० हजार रुपैयाँ सहित दोसल्ला ओढाएर प्रशंसापत्रले सम्मान गरेको हो ।
उत्कृष्ट हुने किसानमा दुधौली नगरपालिका ८ का सुजित खनाल, कमलामाई नगरपालिका ७ का शान्तिकुमारी तामाङ र गोलन्जोर गाउँपालिका ४ का हरि बहादुर भुजेल रहेका छन् । उत्कृष्ट किसानलाई प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन), जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामा, सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालले सम्मान गर्दै कृषि तथा पशुपालनबाट प्राप्त गरेको ‘उत्कृष्ट’ उपाधि कायम राख्दै पेसालाई आगामी दिनमा थप निरन्तरता दिन सुझाव दिनुभयो ।
उत्कृष्ट हुने दुधौली नगरपालिका ८ का किसान सुजित खनालले व्यवसायीक रुपमा २९ वटा भैसी पालन गर्नुभएको छ । कमलामाई नगरपालिका ७ का शान्तिकुमारी तामाङले २ विघा भन्दाबढी खेतमा टमाटर लगाएतको तरकारी खेती र गोलन्जोर गाउँपालिका ४ का हरि बहादुर भुजेलले जुनार खेती गरी रहनुभएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ । ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रमको लागि जिल्लाका ७ जना किसानले आवेदन दिएका थिए । त्यस मध्ये तीन जनालाई छनोट गरिएको कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख अरुण खनालले बताउनुभयो ।