
मुल्कोट सुनकोशी, सिन्धुली, २५ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड) ले संघिय सरकारले पालिकाहरुलाई दिदै आएको वित्तिय समानिकरणको बजेट नघट्ने बताउनुभएको छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिकाको कार्यालयमा जनप्रतिनिधिहरुसँग भेटघाटका क्रममा यस्तो बताउनुभएको हो । बुधवार (भोली) राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाईभर्सन बहुउदेश्य आयोजनाको ‘ब्रेक थ्रु’ गर्न मंगलवार (आज) सुनकोशी गाउँपालिकाको मुल्कोट आइपुग्नु भएको छ ।

समानिकरण अनुदान घटेर आएको विषयमा देशभरका पालिकाहरुले ध्यानाकर्षण गराएको भन्दै प्रधानमन्त्री प्रचण्डले सरकारले अनुदान नघटाउन कहीँन कहीबाट बजेट व्यवस्थापन गर्ने बताउनुभयो । ‘राष्ट्रिय समन्वय परिषद्को बैठकमा आफुँ र अर्थमन्त्रीले समानिकरण बजेट घटाउदैनौँ भनेर बोली सकेकाछौं । त्यस कारण कतैन कतैबाट बजेट व्यवस्थापन गर्छौ । ढुक्क हुनुस् समानिकरण अनुदान घट्दैन’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।
भेटका क्रममा सुनकोशी गाउँपालिकाले प्रधानमन्त्री प्रचण्ड समक्ष गजुलीदह लालबन्दी सडक कालोपत्रे, रोशी खोला करिडोर निर्माण, विपी पार्क गुरुयोजनालाई निरन्तर्ता, १५ शैय्याको अस्पतालको लागि बजेट सुनिश्चिता, रामटार बन्दीपुर सडक कालोपत्रे लगाएतका १० आयोजनाका लागि बजेट माग गरेको छ ।

गाउँपालिकाले राखेका मागहरुलाई अधिकतम् सम्बोधन गर्ने प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।
बुधबार बिहान प्रधानमन्त्री प्रचण्डले सिन्धुली र रामेछापका अगुवा कार्यकर्ता भेट गर्ने कार्यक्रम रहेको छ ।
त्यस पछि सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा रहेको सुनकोशी मरिण डाइर्भसन आयनेजनाको सुरुङको ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रममा सहभागी हुने प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन)ले जानकारी दिनुभयो ।