शुक्रबारदेखि सुरु भएको बागमती प्रदेश स्तरीय महिला कृषि उद्यम मेला आईतबार सकियो

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुलीमा बागमती प्रदेश स्तरीय महिला कृषि उद्यम मेला सुरु सिन्धुली जिल्लाको खुल्ला मञ्चमा शुक्रबारदेखि सुरु भएको बागमती प्रदेश स्तरीय महिला कृषि उद्यम मेला आज सकिएको छ ।

बागमती प्रदेशसभा सदस्य सुष्पा भुजेलले खुल्लामञ्चको छेउमा दाल चिनीको बिरुवा रोपेर कृषि उद्यम मेला समापन गर्नुभएको हो । सौगात लद्यु उद्यम सहकारी संस्था, सिन्धुलीको आयोजना मुना कृषि लिमिटेड भक्तपुरको सह–आयोजना र बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी मन्त्रालयसहित जिल्लाका सरकारी–गैरसरकारी संघसंस्थाहरुसँगको साझेदारीमा मेला आयोजना गरिएको हो ।

उद्यमशीलतालाई प्रोत्साहन गर्ने, नवप्रवर्तनलाई उत्साहित गराउने तथा स्थानीय स्रोतसाधनको स्थानीय जनशक्तिबाटै उपयोग गराउने उद्धेश्य रहेको मेलामा ३६ वटा उद्यमसँग सम्बन्धित स्टलहरु राखिएको थियो । जहाँ ५० जनाभन्दा बढी महिला उद्यमीहरूले उत्पादन गरेका कृषिजन्य तथा हस्तकला सामग्रीको प्रदर्शनी तथा बिक्री गरिएको छ ।

साथै, योगाभ्यास, बालबालिकाहरुका लागि मनोरञ्जनात्मक गतिविधिहरु, विभिन्न प्रतियोगिता, रैथाने खाना, प्रविधि र सीपको प्रस्तुती, नवप्रवर्तन प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, महिलालाई उद्यममा अवसर र चुनौती विषक छलफल, महिला नेतृत्व र उद्यमशीलता सम्बन्धी विभिन्न कार्यक्रम समेत मेलाका मुख्य आकर्षण रहेको मुना कृषि सहकारीका सिता पाण्डेले बताउनुभयो । मेला अवलोकन गर्न आउनेहरुलाई उद्यमीहरुले दुध र मोही निशुल्क खुवाएका छन् । मेलामा १० हजारभन्दा बढी अवलोकनकर्ता सहभागि भएका आयोजकको अनुमान छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्