सिन्धुली, २० भदौं । नेपाल रेडक्रस सोसाईटी सिन्धुलीले रगत आवश्यक पर्ने विरामीहरुलाई निःशुल्क रगत उपलब्ध गराउन एक करोडको अक्षय कोष स्थापना गर्ने भएको छ ।
रेडक्रस सिन्धुलीले एक करोडको अक्षय कोष स्थापनाका लागि व्यक्ति, संघ संस्था र सरकारी कार्यालयहरुसँग सहयोग संकलन गर्न अभियान नै संचालन गरेको छ ।
गएको साउन १० गतेबाट सुरु भएको पहिलो चरणको अभियानमा ५१ लाख ८५ हजार ५३५ रुपैयाँ रकम संकलन भएको नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठले जानकारी दिनुभयो ।
आज पत्रकार सम्मेलन गरेर १ करोडको अक्षय कोष स्थापनाको लागि प्राप्त भएको सहयोग रकमको विवरण सार्वजनिक गरिएको हो ।
‘पहिलो चरणको अभियान अन्तर्गत भदौंको १९ गते सम्म हामीलाई ३३० जना विभिन्न दाताहरुबाट १ करोड, ८५ लाख ५३५ रुपैयाँ रकम सहयोग प्राप्त भएको छ । अब हामी असोज मसान्त सम्म दोस्रो चरणको अभियान सुरु गर्छौ । दोस्रो चरणमा सिन्धुलीका सबै स्थानिय तहहरुसँग सहयोग संकलन गर्छौ । धेरै स्थानिय तहहरुले सहयोग गर्ने प्रतिबद्धता नै जनाइ सक्नुभएको छ ।’ सभापति श्रेष्ठले भन्नुभयो ।
दोस्रो चरणमा जिल्लाका नौ वटा स्थानिय तहहरु, सहकारी, विद्यालय, वन उपभोक्ता समिति, सरकारी कर्मचारीहरुहरुसँग बाँकी रकम संकलन गर्ने लक्ष्य रहेको सभापति श्रेष्ठले बताउनुभयो ।
रगत दान गर्नेहरुबाट निःशुल्क लिए पनि त्यसलाई विरामीले प्रयोग गर्न मिल्ने बनाउन विभिन्न परिक्षण गर्नुपर्ने, उपकरणहरु चाहिने र कर्मचारी राख्नुपर्ने भएकाले अहिले न्युनतम शुल्क लिएर रगत उपलब्ध गराउदै आएको सभापति श्रेष्ठले बताउनुभयो ।
‘रगत बेच्न नी पाईदैन । किन्न नी पाईदैन । तर अहिले सिन्धुली अस्पतालमा आउने विरामीहरुले न्युनतम शुल्क तिरेर रगत किन्नु पर्छ । यो रगतको पैसा नभई रक्तसञ्चार सेवा केन्द्रमा संकलन भएको रगतलाई उपयोग गर्न मिल्ने बनाउन विभिन्न परिक्षण गर्नुपर्छ । उपकरण चाहिन्छ । कर्मचारी चाहिन्छ । यो सबै व्यवस्थापनमा लाग्ने खर्च हामीले लिदै आएको छौं’ सभापति श्रेष्ठले भन्नुभयो ।
१ करोड रकम संकलन भए पछि अक्षय कोष स्थापना गरी त्यसबाट आउने ब्याजले रेडक्रसले अहिले संचालन गर्दै आएको आकस्मिक रक्त सञ्चार सेवा केन्द्रलाई व्यवस्थापन गर्ने सभापति श्रेष्ठले प्रष्ट पार्नुभयो ।
अक्षय कोषबाट प्राप्त ब्याजले आकस्मिक रक्त सञ्चार सेवा केन्द्रको व्यवस्थापन गरेर विरामीहरुलाई निःशुल्क रगत उपलब्ध गराउने सभापति श्रेष्ठले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाईटी सिन्धुलीले वि.स. २०७३ साल आकस्मिक रक्त सञ्चार सेवा केन्द्र संचालन गर्दै आएको छ ।
आकस्मिक रक्त सञ्चार सेवा केन्द्रबाट बार्षिक ७ सय जना विरामीलाई रगत उपलब्ध गराउदै आएको सभापति श्रेष्ठले बताउनुभयो ।