
छाप (सिन्धुली), ११ पुष । सिन्धुलीको मरिण गाउँपालिका वडा नं. १ र २ मा बुधवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मरिण गाउँपालिकाको आर्थिक सहयोग र रेडियो मरिण १०२.७ मेगाहर्जको प्राविधिक सहयोगमा आर्थिक वर्ष २०८०÷०८१ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
गाउँपालिकाको सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र जवाफदेही बनाउन नीति, योजना तथा कार्यक्रमको कार्यान्वयन प्रकृया, प्राप्त उपलब्धि र त्यसले पारेको आर्थिक सामाजिक प्रभावको मूल्याङ्कन गरी नीति, योजना तथा सेवा प्रवाह प्रकृयामा सुधार गर्न नागरिकको राय सुझाव संकलनको लागि सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिन्छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकहरुले सडक निर्माण हुनुपर्ने, पर्याप्त मल पाउनुपर्ने, बिजुली विस्तार हुनुपर्ने, विद्यालय भवन निर्माण हुनुपर्ने, खानेपानीको व्यवस्था हुनुपर्ने लगाएतका माग राखेका छन् । कार्यक्रममा नागरिकले राखेको जिज्ञासा मेटाउदै गाउँपालिकाका उपाध्यक्ष बिमला माझी, प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जी, वडा नं. १ का वडाअध्यक्ष हिरा बहादुर गुर्मछान, वडा नं. २ का वडाअध्यक्ष कमल बहादुर आलेले क्रमैसँग नागरिकको आवश्यकता पुरा गर्दै जाने प्रतिबद्धता जनाउनुभएको छ ।