
कविराज वाईवा
सिन्धुली मरिण / सरोकारवालाहरुसँग राजस्व सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम मरिण गाउँपालिकामा आज (शुक्रबार) सम्पन्न भएको छ । मरिण गाउँपालिका उपाध्यक्ष विमला माझीको अध्यक्षतामा मरिण गाउँपालिकाको आयोजनामा सरोकारवालाहरुसँग राजस्व सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रममा मरिण गाउँपालिकाको आन्तरिक आम्दानी तर्फ आर्थिक वर्ष २०८०÷०८१ र २०८१÷०८२ को राजस्व प्रस्तुत गरिएको थियो । आर्थिक वर्ष २०८०÷०८१ मा १ करोड ५५ लाख १ हजार र २०८१÷०८२ को हाल सम्मको १ करोड ३५ लाख ६२ हजार रहेको छ भने २० लाख अझै सङ्कलन हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षको तुलनामा १० प्रतिशत वृद्धि भएको मरिण गाउँपालिका कर सङ्कलन सहायक जसमान स्याङ्तानले बताउनु भयो ।
स्थानिय बाँडफाँट तर्फ आर्थिक वर्ष २०८०÷०८१ मा रु ५१ लाख ४९ हजार , २०८१÷०८२ मा ३६ लाख ८० हजार रहेको छ । गत आर्थिक वर्षको तुलनामा २८ प्रतिशत नोक्सान रहेको स्याङ्तानले बताउनु भयो । आन्तरिक राजस्व सङ्कलन स्रोत सम्पति कर, घर बहाल कर, जग्गाको विस्तृत वर्गीकरण, घरधुरी पहिचान, होडिङ बोर्ड कर, ढुङ्गा गिट्टी कर र कर दर रेट र दायरा रहेको प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दासले बताउनु भयो ।
कार्यक्रममा कर दाखिला कहिले गर्ने, राजस्व दर रेट निर्धारणमा ध्यान दिनु पर्ने पक्षहरु, मूल्य अभवृद्धिकर, संक्षिप्त कर विजक, अन्त शुल्क, प्यान बिल, दण्ड सजाय, व्याट बिल लगायत विभिन्न विषयमा स्थानिय प्रतिनिधि, सामाजिक अभियन्ता तथा सरोकारवाला निकायका प्रतिनिधिहरूसगँ छलफल गरिएको छ ।
कार्यक्रममा मरिण गाउँपालिका उपध्याक्ष विमला माझी, प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास, विभिन्न वडाका वडाअध्यक्षहरु, कर कार्यालयका कर्मचारीहरु, गाउँपालिका कर्मचारीहरु, स्थानीय प्रतिनिधि, सामाजिक अभियन्ता तथा सरोकारवाला निकायका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो ।