मरिण गाउँपालिकाको निर्णय ः विवाह गर्दा अनुमति पत्र अनिवार्य

बुद्ध नेपाली
  • ख-
  • ख+

सिन्धुली, २२ असोज । सिन्धुलीको मरिण गाउँपालिकाले विवाह गर्दा वडा कार्यालयबाट अनिवार्य अनुमति पत्र लिनु पर्ने नियम लागू गर्ने भएको छ ।

बाल विवाह न्यूनीकरण गर्ने उद्देश्यले विवाह गर्दा वडा कार्यालयमा पुगेर अनिवार्य अनुमति पत्र लिनु पर्ने नियम बनाएको हो ।

विवाह हुनु भन्दा अघि वडा कार्यालयमा पुगी विवाह हुने महिला र पुरुष दुवैको विवाह गर्न योग्य उमेर प्रमाणीत गरी विवाहको लागि अनुमती लिनुपर्ने निमय बनाएको गाउँपालिकाले आज सुचना निकालेर जनाएको छ ।

हिजो आईतवार बसेको गाउँ कार्यपालिकाको बैठकले आगामी मंसिर १ गते देखि अनुमती लिएर मात्रै विवाह गर्न दिने निर्णय गरेको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानले बताउनुभयो ।

मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा ७० (घ) बमोजिम महिला र पुरुषको उमेर २० बर्ष पूरा भएको हुनु पर्दछ । महिला र पुरुष दुबै २० बर्ष उमेर पूरा नभई गरिएको विवाह बाल विवाह ठहरिन्छ ।

२० बर्ष नपुगी विवाह गर्दा कानूनतः बर्जित र दण्डनीय हुन्छ ।

गाउँपालिकामा अहिले पनि हुदै आएको बाल विवाहलाई कम गर्न आर्थिक बर्ष २०८०।०८१ को बार्षिक नीति तथा कार्यक्रममै नियमन र नियन्त्रण गर्ने नीतिगत व्यवस्था गरिएको अध्यक्ष मुक्तानले बताउनुभयो ।

मरिण गाउँपालिकाले बाल विवाह न्यूनिकरण गर्न गएको बर्ष स्नातक तह सम्म पढेर विवाह गर्ने महिलाहरुलाई एक लाख रुपैयाँ पुरस्कार समेत दिएको थियो ।

किशोरीहरुको पढाईलाई निरन्तर्ता दिन र बाल विवाह हुन नदिन कक्षा ११ मा भर्ना भएका किशोरीहरुलाई साईकल उपहार पनि दिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्