
सिन्धुली, ५ बैशाख । सिन्धुलीको मरिण गाउँपालिका ५ पन्चकन्या पोखरीसँगै माझी राष्ट्रिय संस्कृत संग्रहालय भवन निर्माण सुरू भएको छ । आज एक कार्यक्रमका बिच प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन)ले शिलान्यास गरेसँगै भवन निर्माणको कार्य सुरू भएको हो ।
प्रतिनिधिसभा सदस्य दाहालको पहलमा संघिय सरकारको कुल ५५ लाख लागतमा संग्रहालय भवन निर्माण थालिएको हो । भवन निर्माणको ठेक्का एनएमबि निर्माण सेवा एण्ड सप्लायर्स प्रा.ली कमलामाई नगरपालिका ६ सिन्धुलीले पाएको छ । भवन शिलान्यास गर्दै प्रतिनिधिसभा सदस्य दाहालले माझी समुदायको धेरै बसोबास भएको मरिणमा संग्रहालय बनेपछि परम्परा, संस्कार,सस्कृति संरक्षणमा टेवा पुग्ने बताउनुभयो ।
भवन समयमै गुणस्तरीय रुपमा सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्दै उहाँले आपुग बजेटहरु आगामी बर्षहरुमा थप गर्न पहल गर्ने बताउनुभयो ।
उहाँले पन्चकन्या पोखरीलाई भौतिक निर्माणसँगै सौन्दर्यकरण गर्न जोड दिनुपर्ने बताउनुभयो । मरिण गाउँपालिका अध्यक्ष बिमर्श मुक्तान(प्रख्यात) र उपाध्यक्ष बिमला माझीले माझी राष्ट्रिय संस्कृत संग्रहालयले पन्चकन्या पोखरीको प्रचार प्रसारमा मद्धत पुग्ने बताउनुभयो ।
कार्यक्रमका मरिण गाउँपालिकाको विभिन्न वडाका वडाअध्यक्ष,कार्यपालिका सदस्यहरु लगाएतका जनप्रतिनिधिहरु, कर्मचारी, स्थानिय लगाएतको उपस्थिती रहेको थियो ।