मरिणका ५६ जना युवाहरु निःशुल्क सिपमूलक तालिमको लागि छनोट

बुद्ध नेपाली
  • ख-
  • ख+

सिन्धुली, १७ भदौं । सिन्धुलीको मरिण गाउँपालिकाका ५६ जना युवाहरुले निःशुल्क सिपमूलक तालिम लिन पाउने भएका छन् ।

प्लान इन्टरनेशनल नेपाल र सिड्स नेपाल सिन्धुलीको संयुक्त साझेदारी तथा मरिण गाउँपालिकाको समन्वयमा संचालन भएको दक्ष युवा परियोजना अन्तर्गत हुने निःशुल्क सिपमूलक तालिमको लागि गाउँपालिकाले ५६ जना युवाहरुलाई छनोट गरेको छ ।

गाउँपालिकाले आईतवार (आज) एक सुचना जारी गरी निःशुल्क सिपमूलक तालिमका लागि छनोट भएका ५६ जना र वैकल्पिक १० जनाको नाम, ठेगाना र सिक्न चाहेको सिपको विवरण सार्वजनिक गरेको छ ।

निःशुल्क सिपमूलक तालिममा सहभागी हुन छनोटमा परेका युवाहरुलाई सात दिन भित्र गाउँपालिकाको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

मरिण गाउँपालिकामा बसोबास गर्ने १८ देखि २४ बर्ष उमेर समुहका युवा, महिला तथा पुरुषहरुलाई रोजगार एवं स्वरोजगार बनाउने उदेश्यले संचालन गरिएको दक्ष युवा परियोजना अन्तर्गत निःशुल्क सिपमूलक तालिम सुरु हुन थालेको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तन(प्रख्यात)ले बताउनुभयो ।

परियोजना अन्तर्गत ईलेक्ट्रिसियन, प्लम्बर, हाटेल कुक, ब्युटिसियन, प्यान⁄भ्याट, अटो ड्राईभिङ, मार्वल टायल फिटर, वईटर, कारपेन्टर, सेनिटेरी प्याड मेकिङ्क, हेयर सैलुन लगाएतका एक दर्जन बढी प्रकारका सिपहरु युवाहरुलाई निःशुल्क सिकाई दक्ष बनाईने मरिण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जीले बताउनुभयो ।

विभिन्न प्रकारको निःशुल्क सिप सिक्नको लागि आवेदन भरेका मध्ये ३४ जना महिला र २२ जना पुरुषहरु छनोट भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्