फिक्कल गाउँपालिका १ महादेवडाँडामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सिन्धुली प्रेस
  • ख-
  • ख+

खाङसाङ÷फिक्कल सिन्धुली, २५ चैत । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर १ महादेवडाँडाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । १ नम्बर वडाअध्यक्ष होम बहादुर सुनुवारको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिक र सरोकारवाला बिच सवाल जवाफ भएको छ ।

आर्थिक बर्ष २०८१÷०८२ को दोस्रो चौमासिकमा गाउँपालिकाबाट प्रवाह भएको वस्तु तथा सेवाको गुणस्तरका बारेमा सहभागी नागरिक, जनप्रतिनिधि, कर्मचारीहरु बिच सवाल जवाफ भएको हो । कार्यक्रममा सहभागी नागरिकहरुले बिजुली विस्तारमा भएको ढिलाई, स्वास्थ्य, शिक्षा, कृषि लगाएत वडाको सेवा प्रवाहका बारेमा प्रश्न सोधेका छन् ।

कार्यक्रममा सहभागी नारायण नेपालीले सार्वजनिक सुनुवाईमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा सदस्यहरु नआउदाँ नागरिक प्रति जनप्रतिनिधिहरुको जवाफदेहिता नदेखिएको बताउनुभयो । उहाँले वडाको बाँकी भुभागमा बिजुली विस्तार किन ढिलाइ भएको हो ? एउटै व्यक्तिले बारम्बार अनुदान लगाएतका सेवा सुविधा किन पाईरहन्छ ? भनेर प्रश्न सोध्नु भएको छ ।

सहभागीहरुले राखेको प्रश्नको जवाफदिदै फिक्कल गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष होम बहादुर सुनुवारले गाउँपालिका अध्यक्ष,उपाध्यक्ष कार्य व्यस्तताले कार्यक्रममा आउन नसकेको बतानउनुभयो । वडा सदस्यहरु भने बारम्बार खबर गर्दा पनि अधिकांश कार्यक्रममा नआउने गरेको वडाअध्यक्ष सुनुवारले बताउनुभयो । ठेकेदारले समयमै काम नगर्दा वडामा विजुली विस्तारको काम नसकिएको बताउनुभयो ।

केही पोल तार जडान गर्ने काम बाँकी रहेकाले तत्काल काम सक्न ठेकेदारलाई ताकेता गरी रहेको वडाअध्यक्ष सुनुवारले बताउनुभयो । कहिले काँही राजनितिक पहुँचका आधारमा एउटै व्यक्तिले बारम्बार सरकारी सेवा सुविधा लिने काम भएको स्वीकार गर्दै वडाअध्यक्ष सुनुवारले आगामी दिनमा त्यस्तो हुन नदिने बताउनुभयो ।

कार्यक्रममा वडा सचिव भोज बहादुर खत्रीले चालु आ.वको लागि विनियोजित बजेट, योजना, कार्यक्रमहरुको कार्यान्वयनको अवस्था, सेवा प्रवाह र राजश्व संकलनका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका सदस्य बाल कुमारी मगर, नेपाली काग्रेसका नेता नृप बहादुर भुजेल, एमालेका प्रतिनिधि धमिन्द्र दमाई, शिक्षक, बुद्धिजीवी लगाएत वडाबासी नागरिकहरुको उपस्थिती रहेका थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?