राँगेदोभान,हरिहरपुरगढी, ७ असार ।
हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ६ राँगेदोभान बेसीटोलमा रहेको श्री प्राथमिक विद्यालयको नव निर्मित दुई काेठे भवनको शुक्रबार उद्घाटन गरिएको छ । बागमती प्रदेश सरकारको सहयोगमा निर्माण भएको भवनको प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल९राजन०ले उद्घाटन गर्नुभएको हो ।
कुल ३० लाख रूपैयाँ लागतमा विर गोर्खाली कन्ट्रक्सनले ठेक्का लिएर भवन निर्माण गरेको हो । भवन उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले अहिलेको समयमा शैक्षिक बेरोजगार हटाउन सीपमूलक र प्राविधिक शिक्षाको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाले शैक्षिक गुणस्तर सुधारमा धरै लगानी भएको भए पनि उपलब्धि भने सोचे अनुसार नदेखिएको बताउनुभयो ।
सरकारले गरेको लगानीको सदुपयोग हुन र पठनपाठन राम्रो बनाउन शिक्षकहरू नै जागरुक र ईमानदार हुनुपर्ने बताउनुभयो । वडाअध्यक्ष कुल बहादुर भोलनले निर्माण भएको प्रयोग गरी पठनपाठनलाई राम्रो बनाउनु पर्ने बताउनुभयो
२०६६ सालमा स्थापना भएको विद्यालयमा कक्षा ५ सम्म ९० जना बालबालिकाहरू पढ्दै आएका छन् ।