
सिन्धुली, २४ जेठ । उद्योग तथा बाणिज्य कार्यालय सिन्धुलीले अपारदर्शी ढंगले विभिन्न प्रविधिका सामाग्री वितरण गरेको गुनासो आएको छ । कार्यालयको आर्थिक बर्ष २०८१÷०८२ को प्रविधि हस्तान्तरण कार्यक्रम अन्तरगतको सामाग्रीहरुको खरिद प्रक्रिया र वितरणमा अपारदर्शी भएको आरोप छ ।
उद्यमीहरुको मागमा आधारित विभिन्न प्रविधिका सामाग्रीहरु साझेदारीमा वितरण गर्न प्रविधि हस्तान्तरण कार्यक्रममा ३० लाख बजेट विनियोजन भएको थियो । कार्यालयले कमिसनको लोभमा प्रक्रिया पुरा नगरी सिमित सप्लायर्सहरुसँगको साठगाठमा प्रविधि खरिद गर्ने व्यवस्था मिलाईएको आरोप छ ।
सार्वजनिक सुचना मार्फत खुल्ला दरभाउ माग गरेर कम दररेट पेश गर्ने सप्लायर्ससँग खरिद गर्नुपर्ने भए पनि मिलेमतोमा सिमित सप्लायर्ससँग मात्रै दरभाउ माग गरिएको स्रोतले जनाएको छ । कार्यालयका प्रमुख ध्रुव कुमार ढकालले कमिसनको सेटिङ्गमा आफ्नो नजिकको सप्लायर्ससँग दरभाउ माग गरेर म्याद सकिएपछि मात्रै दरभाउ मागको सूचना प्रकाशन गरिएको स्रोतको दावी छ ।
लाभग्राही छनोटमा समेत पारदर्शी नभएको आरोप छ । मापदण्डमा नपर्ने लाभग्राहीलाई छनोट गरी प्रविधि हस्तान्तरण गरिएको स्रोतको भनाई छ ।
उद्योग तथा बाणिज्य कार्यालय सिन्धुलीका प्रमुख ध्रुव कुमार ढकालसँग यस बिषयमा बुझ्दा सबै प्रक्रिया पुरा गरेर खरिद गरिएको दावी गर्नुहुन्छ ।
कार्यालय प्रमुख ढकालसँग प्रविधि हस्तान्तरण कार्यक्रमको कार्यविधि, दरभाउ पत्र मूल्यांकन समितिले गरेको निर्णय, सो समितिले निर्धारण गरेको मूल्य, लाभग्राही छनोटको लागि अपनाइएको विधि, लाभग्राहीले पेश गरेको विल लगाएतका कागजात सहितको विवरण माग गर्दा अहिले दिन नमिल्ने भन्दै पन्छीएका छन् ।
विभिन्न प्रविधि माग गरेर जिल्लाका १ सय ७४ जनाको निवेदन परे पनि १ सय १३ जनालाई मात्रै प्रविधि हस्तान्तरण गर्ने निर्णय भएको कार्यालय प्रमुख ढकालले बताउनुभयो । कार्यालयले उद्यमीको माग अनुसार हाते ट्याक्टर, पानी तान्ने मोटर, गाईलाई बस्न मिल्ने म्याट, टनेल घर, मौरी घार, सिलाई मेसिन लगाएतका प्रविधि हस्तान्तरण गरिने जनाएको छ ।