
सिन्धुली, जेठ १७
सिन्धुलीमाढीमा आज पत्रकार सुरक्षामा राज्य, नागरिक समाज र मिडियाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बाग्मती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोग, प्रेस सेन्टर नेपाल, बागमती प्रदेश समितिको आयोजना जिल्ला समिति सिन्धुलीको समन्वयमा कार्यक्रम भएको हो ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कारसाङ लामाले पत्रकारको भौतिक, आर्थिक, सामाजिक सुरक्षामा तीन तहकै सरकारहरु गम्भिर हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माले पत्रकारीता क्षेत्र राज्यको चौथो अंगको रुपमा रहेकाले पत्रकारहरुको सुरक्षा गर्ने जिम्मा राज्य र समाज दुवैको मुख्य भुमिका हुने बताउनुभयो ।
अहिलेको युग सुचना, प्रविधिको युग भएकाले सञ्चार माध्यम र त्यसमा कार्यरत पत्रकारहरुलाई सबै प्रकारको सुरक्षाको ग्यारेन्टी गर्न राज्यले ध्यान दिनुपर्नेमा उहाँको जोड थियो ।
पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष बिमला पाण्डे, नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका सचिव नविनबाबु अधिकारी, प्रेस चौतारी नेपाल, सिन्धुलीका अध्यक्ष वाईपी विनय दाहाल, नेपाल शिक्षक महासघं सिन्धुलीका अध्यक्ष विष्णु फुयाल लगाएतका सरोकारवालाहरुले पनि पत्रकारको सुरक्षामा राज्य गम्भिर हुनुपर्नेमा जोड दिएका छन् ।