नेपाल मगर संघ सिन्धुलीको विवाद अहिले तल्लो तह सम्म देखिएको छ ।
चुल बहादुर पुलामी (सरोज) नेतृत्वको एउटा समुह र अम्बिका खुलाल मगर नेतृत्वको अर्को समुहले नेपाल मगर संघ सिन्धुलीको नाममा आयोजना गरेको छुट्टा छुट्टै कार्यक्रमले अहिले विवाद तल्लो तह सम्म पुगेको प्रष्टै देखिन्छ ।
एउटा समुहले विधान अनुसार नेपाल मगर संघ सिन्धुलीको अध्यक्ष अम्बिका खुलाल मगरलाई मान्छ भने अर्को समुहले केन्द्रले अम्बिका खुलाल मगरलाई कारवाही गरेर चुल बहादुर पुलामी(सरोज) लाई अध्यक्षमा मनोनित गरेर पठाएकाले नेपाल मगर संघ सिन्धुलीको अध्यक्ष सरोजलाई ठान्छ ।
यही विवादका कारण नेपाल मगर संघ सिन्धुलीको आधिकारिक अध्यक्ष कसलाई मान्ने र नेपाल मगर संघ सिन्धुली कुन पक्षलाई मान्ने भन्ने कुरामा नै जिल्लाभरका मगर समुदायहरु अलमलमा परेका छन् ।
मगरहरुको राष्ट्रिय पर्व माघे संक्रान्तिको अवसर पारेर सरोज नेतृत्वको एउटा समुहले अहिले जिल्लाभरको पालिकाहरुमा मगर जागरण अभियान चलाई रहेको छ भने अम्बिका नेतृत्वको अर्को समुहले पनि पालिकाहरुमा शुभकामना आदान प्रदान लगाएतको कार्यक्रम आयोजना गरि रहेको छ ।
गएको पुष २५ गते मरिण गाउँपालिकामा अम्बिकालाई सहभागी गराएर नेपाल मगर संघ मरिण गाउँसमितिले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
त्यसको भोली पल्ट पुष २६ गते नेपाल मगर संघ जिल्ला समन्वय समिति सिन्धुलीको नाममा सरोज नेतृत्वको समुहले मगर जागरण अभियान कार्यक्रम आयोजना गर्यो ।
यी दुवै समुहले छ्ट्टा छुट्टै कार्यक्रमको आयोजना गरेर सार्वजनिक रुपमै नेपाल मगर संघ सिन्धुलीको आधिकारिकता आफुँहरुसँग रहेको दावी गर्दै आएका छन् ।
यसरी एउटै संघको नाममा एकै पालिकामा छुट्टाछुट्टै कार्यक्रम भएपछि कुन पक्षलाई नेपाल मगर संघ मान्ने भन्नेमा मगर समुदायहरु नै विभाजित भएको देखिन्छ ।
केन्द्रीय समितिले विधान विपरित गरेको कार्यको विरोध गर्दा आफुँलाई अध्यक्षबाट हटाएको अम्बिका खुलाल मगरको आरोप छ ।
अधिवेशनबाट चयन भएको समिति हुदा हुदै केन्द्रले त्यो समितिलाई वेवास्ता गर्दै चुल बहादुर पुलामीलाई अध्यक्षमा मनोनित गरेको मगरको आरोप छ ।