
सिन्धुली, २४ बैशाख । सिन्धुलीको मरिण गाउँपालिकामा झन्डै एक किलोमिटर पक्की ढलान सडक निर्माण गरिएको छ ।
ठुलो गर्दुवा, खलंगा हुदै कार्तिके पुग्ने सडक खण्डमा ८ सय ४५ मिटर पक्की ढलान सडक निर्माण गरिएको छ । यो सडक गाउँपालिकाको वडा नम्बर दुईको ठुलो गर्दुवा मदन भण्डारी राजमार्ग देखि एक नम्बर वडाको खलंगा, कार्तिके हुदै काभ्रेको महाभारत गाउँपालिका सम्म जोड्ने सडक हो ।
बागमती प्रदेश सरकार र मरिण गाउँपालिकाको साझेदारीमा कुल १ करोड ५ लाख ३४ हजार ५३५ रुपैयाँ लागतमा ६ मिटर चौडाईमा पक्की ढलान, नाला र रिटेनिङ्ग वाल निर्माण भएको छ ।
सडक निर्माणको ठेक्का कमलामाई नगरपालिका ५ को निर्माण व्यवसायी श्री लक्की वान विल्डर्स एण्ड सप्लायर्स प्रा.लीले पाएको थियो ।

आउने जेठ मसान्तमा निर्माण सम्पन्न गर्ने गरी गएको कार्तिक एक गते सडक निर्माणको सम्झौता गरेर ठेकेदार कम्पनीले निर्माण कार्य सुरु गरेको थियो ।
ठेकेदार कम्पनीले सम्झौता अवधी सकिनु भन्दा दुई महिना अघि गएको चैतमै निर्माण कार्य सम्पन्न गरेको मरिण गाउँपालिकाका इन्जिनियर विनित ओझाले जानकारी दिनुभयो ।
गाउँपालिकाको वडा नम्बर दुईको ठुलो गर्दुवा देखि एक नम्बर वडा कार्यालय खलंगा सम्म पुग्ने यस सडकको कुल लम्बाई ८ किलोमिटर रहेको छ ।
यस मध्ये यस बर्ष ८ सय ४५ मिटर र गएको बर्ष २ सय ५५ मिटर गरी कुल एक दशमलव एक किलो मिटर सडक पक्की ढलान भएको मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले बताउनुभयो ।
चुनावमा पाँच बर्षभित्र एक नम्बर वडा कार्यालयको खलंगा सम्म पक्की सडक बनाउने प्रतिबद्धता गरेकाले यस सडकलाई बर्षेनी प्राथमिकता दिएर बजेट विनियोजन गरिएको अध्यक्ष मुक्तानले बताउनुभयो ।
आफ्नो बाँकी ३ बर्ष कार्यकाल भरी सडक निर्माण सम्पन्न गर्ने गरी थप बजेटको व्यवस्थापन गर्ने अध्यक्ष मुक्तानको भनाई छ ।
सडकको बढी जोखिम क्षेत्रमा पक्की ढलान निर्माण भएकाले बर्षायाममा हिड्डुल गर्न स्थानियलाई विगतको भन्दा केही सहज हुने मरिण गाउँपालिकाको वडा नम्बर एकका अध्यक्ष हिरा बहादुर गुर्मछानले बताउनुभयो