जनतासँग माओवादी विशेष रूपान्तर अभियानः पुलको संरक्षण गर्न ३१ थान जाली भरियो

बुद्ध नेपाली
  • ख-
  • ख+

कपिलाकोट, १६ भदौं । सिन्धुलीको मरिण गाउँपालिकामा श्रमदान गरेर जनतासँग माओवादी विशेष रूपान्तर अभियानको सुरुवात गरिएको छ ।

अभियान अन्तर्गत मरिण गाउँपालिका वडा नम्बर ७ देउजोर र वडा नम्बर ५ बडीमुहान जोड्ने झोलुङ्गे पुलको संरक्षणका लागि श्रमदान मार्फत ३१ थान जाली भरिएको हो ।

केही दिन अघि परेको अविरल बर्षा पछि मरिण खोलामा आएको बाढीले कटान गर्दा देउजोर र बडीमुहान जोड्ने झोलुङ्गे पुल जोखिममा परेको थियो ।

माओवादी केन्द्रले आज देखि सुरु गरेको जनतासँग माओवादी विशेष रूपान्तर अभियानको पहिलो दिन जोखिममा परेको पुलको जग संरक्षणका लागि श्रम शिविर आयोजना गरी जाली भरिएको बागमती प्रदेश कमिटि सदस्य यम कुमार देवकोटाले जानकारी दिनुभयो ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं बागमती प्रदेशसभा सदस्य उर्मिला लामा, माओवादी केन्द्र बागमती प्रदेश कमिटि सदस्य एवं मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान, बागमती प्रदेश कमिटि सदस्य यम कुमार देवकोटा लगाएत गाउँपालिकाका जनप्रतिनिधिहरु, पार्टीका नेता कार्यकर्ताहरु श्रमदानमा सहभागी भई जाली भरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्