
नेपाल सरकार अन्तर्गतको राष्ट्रिय युवा परिषदले सञ्चालन गर्ने नमुना युवा संसद अभ्यास कार्यक्रम सिन्धुलीको मरिण गाउँपालिकामा सुरु भएको छ । चारदिन सम्म संचालन हुने कार्यक्रमको आज मरिण गाउँपालिका उपाध्यक्ष बिमला माझीले उद्घाटन गर्नुभएको छ ।
“समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा” भन्ने नारा सहित युवा परिषद्ले युवाहरुको नेतृत्व विकास र क्षमता विकासका लागि नमुना युवा संसद अभ्यास कार्यक्रम सञ्चालन गरेको हो । युवा परिषदको कार्यविधि अनुसार पहिलो चरणमा मरिण गाउँपालिकामा स्थानीय तहमा नगर÷गाउँ सभाको अभ्यास गराइन्छ ।
नगर÷गाउँबाट छनौट भएका युवालाई दोस्रो चरणमा प्रदेश नमुना संसदमा सहभागी गराइने र त्यहाँबाट पनि छनौट भएकालाई तेस्रो चरणमा संघीय तहमा सहभागी गराइने बताईएको छ । कार्यक्रममा मरिण गाउँपालिकाको सात वटा वडाबाट ४ जनाको दरले २८ जना युवाहरुले सहभागीता जनाएका छन् ।
राष्ट्रिय युवा परिषद, सानोठिमी भक्तपुरको समन्वय र मरिण गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जी, विभिन्न वडाका वडाअध्यक्ष लगाएतका जनप्रतिनिधि र युवाहरुको उपस्थिती रहेको थियो ।