घ्याङलेख गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आज देखि सुरू

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, ४ मंसिर । सिन्धुलीको घ्याङलेख गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आज देखि सुरू भएको छ ।

“स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद“ भन्ने नाराका साथ सुरू भएको प्रतियोगिताको बागमती प्रदेश सरकारका पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले उद्घाटन गर्नुभएको हो ।

प्रतियोगितामा घ्याङलेख गाउँपालिका भित्रका ६ वटा मावि विद्यालयहरू नेत्रकाली मावि तामाजोर, नेत्रकाली मावि आँपडाँडा रामपुर, मावि अमले, जनजागृति मावि गोपे, शारदा मावि भैँसे र मावि मरिण हायुटारले प्रतिस्पर्धा गर्नेछन् ।

भलिबल, केटाको कबड्डी एथलेटिक्सका दौड १ सय २ सय मिटर, हाईजम्प, त्रिपलजम्प, सटफुट, ज्याभ्लिङ थ्रो खेलहरू हुने संचालन हुने घ्याङलेख गाउँपालिका खेलकुद विकास समिति अध्यक्ष अपिनास वाइबाले जानकारी दिनुभयो ।

प्रतियोगितामा पहिलो हुने विद्यालयले नगद ३० हजार दास्रो हुने विद्यालयले नगद २० हजार र तेस्रो हुने विद्यालयले नगद १० हजार सहित ट्रफी, शिल्ड, मेडल प्रमाणपत्र पुरस्कार पाउने खेलकुद विकास समितिका अध्यक्ष वाईबाले बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन गर्दै पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले खेलकुदले व्यक्तिलाई स्वस्थ्य बनाउनुका साथै आफ्नो गाउँठाउँ र देशकै पहिचान बढाउन योगदान दिने भएकाले अनुशासित भएर प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो ।

उहाँले घ्याङलेख गाउँपालिका एउटा व्यवस्थित खेल मैदानको अभाव रहेकाले आगामी बर्ष खेलमैदान बनाउन प्रदेश सरकारबाट बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज बुद्धिमान माझीले शिष्ट, मर्यादित र अनुशासित भएर आफ्नो खेल देखाउन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । उहाँले राम्रो खेल खेल्न खेलाडीहरु अनुशासन र अभ्यासमा पोख्त हुनुपर्ने बताउनुभयो ।

घ्याङलेख गाउँपालिका उपाध्यक्ष शंकरमान घलानले संघीय सरकारले बजेट कटौती गरे पनि पालिकाले बजेटको व्यवस्था गरेर विद्यार्थीहरुको खेल क्षमता बढाउनको लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगताको आयोजना गरेको बताउनुभयो ।

पालिकामा व्यवस्थित खेलमैदान नभएकाले खेलकुद प्रतियोगिता संचालन गर्न समस्या भोग्नु परेको बताउदै पालिकाले खेलमैदान निर्माणको लागि बजेट व्यवस्थापन गर्ने बताउनुभयो ।

कार्यक्रममा घ्याङलेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेल, वडा नम्बर ४ का वडाअध्यक्ष अमृत वाईबा, वडा नम्बर ५ का वडाअध्यक्ष ज्ञान बहादुर सिँजाली, शिक्षक, विद्यार्थीहरु, अभिभावक लगाएतको उपस्थिती रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्