
सिन्धुली, ९ असोज । सिन्धुलीको घ्याङलेख गाउँपालिको एक परिवारले स्वर्गीय बुवाको सम्झानामा अक्षयकोष स्थापना गरेका छन् ।
घ्याङलेख गाउँपालिको वडा नं. ५ का स्वर्गीय मान बहादुर कर्मचार्य (दुब्ले) को सम्झनामा चार भाई छोरा र नातीले १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।
गरिव तथा जेहेन्दार विद्यार्थीलाई पढाईमा सहयोग गर्ने उदेश्यले अक्षयकोष स्थापना गरिएको हो । छोराहरु प्रेम कुमार कर्मचार्य, डिल बहादुर कर्मचार्य, रामकृष्ण कर्मचार्य, धनराज कर्मचार्य र नाती डम्बर बहादुर कर्मचार्यले आज घ्याङलेख गाउँपालिकामा रहेको एसबिआई बैंकमा १० लाख रुपैयाँ निक्षेपमा जम्मा गरी स्वर्गीय मान बहादुर कर्मचार्य (दुब्ले) स्मृति अक्षयकोष स्थापना गरेका छन् ।
छोराहरु प्रेम कुमार कर्मचार्यले २ लाख, डिल बहादुर कर्मचार्यले ४ लाख र नाती डम्बर बहादुर कर्मचार्यले ४ लाख रुपैयाँ गरी कुल १० लाखको अक्षयकोष स्थापना गरिएको बिष्णु कुमार कर्मचार्यले जानकारी दिनुभयो ।
अक्षयकोषको व्याजले घ्याङलेख गाउँपालिको वडा नं. ५ मा रहेको नेत्रकाली माध्यमिक विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक रुपमा पुरस्कार प्रदान गरिने विष्णु कुमार कर्मचार्यले बताउनुभयो ।
अक्षयकोषबाट प्राप्त हुने व्याजले विद्यालयले गरिव तथा जेहेन्दार विद्यार्थी भनेर छनोट गरेका विद्यार्थीको उज्ज्वल भविष्यका लागि प्रयोग गरिने उहाँले बताउनुभयो ।