
सिन्धुली, १६ असाेज । सिन्धुलीको गाेलन्जाेर गाउँपालिकाकाे ७ खुर्काेटका बाढी पिडितहरूलाई आज राहत वितरण गरिएको छ । गएकाे असाेज ११ र १२ गते परेकाे अविरल बर्षाले सुनकाेशी नदीमा आएकाे भिषण बाढीबाट घर पुर्णरूपमा क्षति भएकाे खुर्काेटका ८७ घर परिवारलाई राहत सामाग्रीहरू वितरण गरिएकाे हाे ।

जिल्लामा क्रियासिल विभिन्न गैरसरकारी संस्थाहरूले जिल्ला विपद व्यवस्थापन समितिलाई उपलब्ध गराएका राहतका सामाग्रीहरू बाढी पिडितहरूलाई वितरण गरिएको सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणी फुयालले बताउनुभयो ।

राहतमा एक परिवार बराबर २५ केजी चामल, दाल,नुन,तेल,चिनी, गैर खाद्यान्न सामाग्रीमा ५ जनाकाे परिवारलाई पुग्ने भाडाकुडा, लत्ताकपडा, ओड्नेओछ्याउने, म्याट लगाएतका सामाग्रीहरू रहेकाे सहायक प्रजिअ फुयालले बताउनुभयो । नेपाल रेडक्रस साेसाईटीले उपलब्ध गराएकाे गैर खाद्यान्नका सामाग्री, रिलिफ नेपाल र हेन्डस नेपालले उपलब्ध गराएकाे गैरखाद्यान्न सामाग्रीहरू खुर्काेटका बाढी पिडितहरूलाई वितरण गरिएको सहायक प्रजिअ फुयालले बताउनुभयो ।