खनियाँखर्क खानेपानी आयोजनाको उद्घाटन, धारामा स्वच्छ पिउने पानी झरेपछि स्थानिय हर्षित

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, १२ असार । सिन्धुलीको सुनकोशी गाउँपालिका ५ खनियाखर्क गाउँमा स्वच्छ खानेपानीको सुविधा पुगेको छ ।

एक घर एक धारा अभियान अन्तर्गत गाउँका प्रत्येक घरमा धाराहरु बनेपछि गाउँमा स्वच्छ खानेपानीको सुविधा पुगेको हो । गाउँका ५० भन्दा बढी घरधुरीका नागरिक प्रत्यक्ष लाभान्वित हुने खनियाँखर्क खानेपानी आयोजनाको बुधवार (आज) प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन)ले उद्घाटन गर्नुभएको छ ।

सुनकोशी गाउँपालिकाको १६ लाख रुपैयाँ, नेपाल स्वास्थ्यका लागि पानी ( नेवा ) को २६ लाख रुपैयाँ र स्थानियको जनश्रमदान १४ लाख रुपैयाँ गरी कुल ५७ लाख लागतमा खानेपानी आयोजना सुनकोशी गाउँपालिका ५ का वडाअध्यक्ष सुरथ कुमार बसेलले बताउनुभयो ।

खानेपानी आयोजनाको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य दाहालले एक घर एक धारा अभियानलाई पुरा गर्न पालिका, प्रदेश र संघिय सरकारबाट बजेट ल्याउन पहँल गर्ने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल, उपाध्यक्ष कपिल कुमार कोईरालाले स्वच्छ खानेपानी उपलब्ध गराउन गाउँपालिकाले बर्षेनी प्राथमिकताका साथ बजेट छ्ट्याउदै आएको बताउनुभयो ।

बर्षोदेखि खोला, कुवा, पधेराबाट ओसारेर पानी खादै आएका खनियाँखर्कका स्थानिय अहिले घरको आगँनमै बनेको धारामा पानी आएपछि खुसी भएका छन् । खनियाखर्कका प्रतिक्षा वाईबाको घरको आगँनमै नयाँ खानेपानीको धारा बनेको छ ।

आगँनमै धारा बनेपछि प्रतिक्षाको घरमा खानेपानी बाहेक सरसफाई गर्न र गाईवस्तुलाई खुवाउन धेरै सजिलो भएको छ ।‘ आगँनमै धारा बनेको छ । तिर्खा लाग्यो भने जग थाप्यो अनि पानी खायो । धारा बनेपछि खान मात्रै होईन चर्पीमा, लुगाधुन नुहाउन, गाईवस्तुलाई खुवाउन निक्कै सजिलो भएको छ’ उहाँले भन्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?