
सिन्धुली, २५ भदौं । कृषि ज्ञान केन्द्र सिन्धुलीले चालू आर्थिक बर्ष २०८०÷०८१ मा ६ करोड भन्दा बढीको विभिन्न कार्यक्रम संचालन गर्ने भएको छ ।
कृषि ज्ञान केन्द्र सिन्धुलीले आज सार्वजनिकरण कार्यक्रमकाको आयोजना गरेर चालु आर्थिक बर्ष २०८०÷०८१ मा विभिन्न १५ वटा कार्यक्रमहरु कार्यान्वयन गर्नका लागि कुल ६ करोड ८६ लाख ७२ हजार रूपैयाँ बजेट छुट्याएको जनाएको हो ।
चालू आर्थिक बर्षमा स्थानीय तहका कृषि प्राविधिकसँग दुई÷दुई महिनाको बैठक संचालनको लागि ३ लाख, जिल्ला स्तरीय योजना तर्जुमा गोष्ठी संचालनको लागि १ लाख ५ हजार, जिल्ला स्तरिय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरणको लागि १ लाख ५० हजार रूपैयाँ बजेट छुट्याएको कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख अरुण खनालले बताउनुभयो ।
कृषि मेला महोत्सवहरूमा सहयोगको लागि ५० हजार, विभिन्न दिवस मनाउन २ लाख, साना सिँचाइ कार्यक्रमको लागि ९० लाख, व्यवसायिक तरकारी खेती प्रवद्र्धन कार्यक्रमको लागि ८० लाख बजेट छुट्याएको छ ।
मकै बालि प्रवद्र्धन कार्यक्रमको लागि ४० लाख, किवी तथा एभोकाडो प्रवद्र्धन कार्यक्रमको लागि ४० लाख, उच्च प्रविधियुक्त संरचनामा तरकारी खेति प्रवद्र्धन कार्यक्रमको लागि १० लाख ५० हजार, प्राङगारिक मल वितरण कार्यक्रमको लागि ५० लाख, यान्त्रिकिकरण तथा प्रविधि प्रवद्र्धन कार्यक्रमको लागि ४० रूपैयाँ छुट्याएको प्रमुख खनालले बताउनुभयो ।
खाद्य प्रणाली रूपान्तरणका लागि मागमा आधारित जिविकोपार्जन सहयोग कार्यक्रमको लागि २० लाख, कृषि विकासका लागि बीउ पुँजीकोष परिचालन कार्यक्रमको लागि ५० लाख र न्युनतम समर्थन मूल्य कार्यान्वयन कार्यक्रमका लागि १० लाख रूपैयाँ छुट्याएको प्रमुख खनालले जानकारी दिनुभयो ।
कृषि ज्ञान केन्द्र सिन्धुलीले गएको आर्थिक बर्ष २०७९÷८० को लागि विभिन्न कार्यक्रम संचालनको लागि कुल ६ करोड बजेट भन्दा बढी बजेट छुट्याएको भए पनि त्यसको आधा मात्रै खर्च भएको पाईएको छ ।
गएको आर्थिक बर्षको लागि छुट्याएको ६ करोड ८८ लाख बजेट मध्ये कुल ३ करोड १९ लाख अर्थात ५२ दशमलव ६२ प्रतिशत मात्रै खर्च भएको कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख खनालले बताउनुभयो ।
बागमती प्रदेश सरकारले समुह÷सहकारीमा आबद्ध किसानलाई मात्रै अनुदान लगाएतका कार्यक्रममा समेट्ने गरी कार्यविधि बनाएकाले आवेदन नै कम परेर बजेट खर्च हुन नसकेको प्रमुख खनालले बताउनुभयो ।
बागमती प्रदेश सरकारले बनाएको कार्यविधिले कृषि ज्ञान केन्द्र सिन्धुलीबाट संचालन हुने कार्यक्रममा व्यक्तिगत रुपमा कृषि व्यवसाय गर्ने किसानलाई समेट्न नमिल्ने भएपछि धेरै कार्यक्रम कार्यान्वयन गर्न नै नसकिएको प्रमुख खनालको भनाई छ ।
कार्यविधि संसोधन गर्न पटक पटक सुझाव पठाएको भए पनि अहिले सम्म बागमती प्रदेश सरकारले कार्यविधि संसोधन नगरेको प्रमुख खनालले बताउनुभयो ।