कमलामाई नगरपालिकाका ८ जना भुमिहिन दलित, भुमिहिन सुकुम्बासीहरुले लालपुजा पाए

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, १८ असोज । सिन्धुलीको कमलामाई नगरपालिकाका भुमिहिन दलित, भुमिहिन सुकुम्बासीहरुले जग्गा धनी पुर्जा (लालपुजा ) पाएका छन् ।

आज आयोजित एक कार्यक्रमका बचि कमलामाई नगरपालिकाले वडा नं. ७ का ८ जना भूमिहिन दलित, भूमिहिन सूकुम्बासीहरुलाई जग्गा धनी प्रमाण पत्र दिएको हो ।

वडा नम्बर ७ को लुङ्गेलीटार सामुदायिक भवनमा भएको कार्यक्रममा ६ जना भूमिहिन दलित र २ जना भूमिहिन सुकुम्वासीलाई जग्गा धनी प्रमाणपत्र दिइएको छ ।

कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेल, राष्ट्रिय भूमि आयोगका केन्द्रिय उपाध्यक्ष नहिन्द्र बहादुर खड्का, वडा नं. ७ का अध्यक्ष कर्ण बहादुर घिसिङले भुमिहिन दलित, भुमिहिन सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गर्नुभएको हो ।

वडा नम्बर ७ का ३२२ जना अव्यवस्थित बसोवासीलाई अस्थायी नाप नक्सा निस्सा कार्ड पनि दिईएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय भूमि आयोगका केन्द्रिय उपाध्यक्ष नहिन्द्र बहादुर खड्काले विगतको आयोग भन्दा अहिलेको आयोगले फरक तरिकाले काम गरिरहेकाले सवैको सहयोग भएमा सबै भुमिहिन दलित, भुमिहिन सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्न सकिने बताउनुभयो ।

कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले अव नगरपालिकाले सवै वडामा जग्गा धनी प्रमाणपत्र वितरणका लागि पहल गरिने बताउनुभयो । उहाँले आउदो तिहार पछि नगरपालिकाको अर्को वडामा लालपुर्जा वितरण गर्ने योजना रहेको बताउनु भयो ।

राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष वावुराम राइले सिन्धुली जिल्लाका सबै पालिकाहरुले सहयोग गरेमा सबै भुमिहिन दलित, भुमिहिन सुकुम्बासीहरु, अव्यवस्थित बसोवासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्न सकिने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले भूमि अयोगले यस जिल्लामा प्राप्त गरिरहेको सफलतामा वृद्धि गराउन आयोगको अवधिलाई थप गर्नुपर्ने भनाई व्यक्त गर्नुभयो ।

वडा नं. ७ का अध्यक्ष कर्ण बहादुर घिसिङले आफ्नो वडाबाट सुरु भएको लालपूर्जा वितरण अभियानले नगरको अन्य वडामा पनि तिव्रता पाउने बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्