सिन्धुली, ९ पुष । नेकपा (एमाले) सिन्धुली जिल्ला कमिटिको बैठकले गरेको निर्णय प्रति नेकपा(माओवादी केन्द्र) सिन्धुलीले आपत्ती जनाएको छ ।
गएको पुष ४ र ५ गते दुधौली नगरपालिकामा बसेको नेकपा (एमाले) जिल्ला कमिटि सिन्धुलीको चौथो पूर्ण बैठकले प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल राजनको अभिव्यक्ति र वैयतिक स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी निर्णय गरेको भन्दै आपत्ती जनाएको हो ।
एमाले सिन्धुलीको बैठकले माओवादी केन्द्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दाहालले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध जथाभावी बोलेको भन्दै सिङ्गो एमाले पार्टीले प्रतिवाद गर्ने निर्णय गरेको छ भन्ने समाचारहरु प्रकासन, प्रशारण भएको थियो ।
माओवादी केन्द सिन्धुलीका इन्चार्ज बुद्धिमान माझी (बसन्त) र जिल्ला संयोजक पानीराज बम्जनले आज संयुक्त रुपमा प्रेस विज्ञप्ती निकालेर प्रतिवादमा उत्रन एमाले कार्यकर्तालाई निर्देशन दिनाले माओवादीसँग सिधै मुठभेट गर्न तयारी गरेको आभाष भएको जनाएका छन् । “हाम्रो पार्टीको केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला प्रतिनिधि सभा २ का सदस्य क. राजन दाहालको अभिव्यक्ति र वैयतिक स्वतन्त्रता समेतलाई कुण्ठित गर्ने गरी प्रतिवन्धित गर्न र प्रतिवादमा उत्रिन कार्यकर्तालाई निर्देशन गर्नु, मरिण ५ मा माओवादी कार्यकर्ताले ऐलानी जग्गा नापीको क्रममा प्रतिकट्ठा रु. ५०० का दरले रकम लिएको र मरिण ५ मै गाई काटेको आरोपमा माओवादी कार्यकर्ताले सुराकी गराई निर्दोष व्यक्तिहरु नगदले गोले र ऐमान गोलेलाई पक्राउ गराएको जस्ता अनर्गल, आरोप र भ्रामक निर्णय गरी जारी गरेको घोषणा पत्रको हाम्रो पार्टी घोर आपत्ति प्रकट गर्दछ” प्रेस विज्ञप्तीमा लेखिएको छ, ।
एमाले सिन्धुलीको निर्णय गलत, भ्रामक र कपोल्कल्पीत आरोप भन्दै माओवादी केन्द्र सिन्धुलीले आफ्ना कार्यकर्ता, जनताहरुलाई सचेत रहन अपिल समेत गरेको छ ।
विज्ञप्तीमा भनिएको छ, “एमाले पार्टीले गरेको कथित प्रतिवादमा उत्रने निर्णयलाई सच्याउँदै संयमित र राजनीतिक व्यवहार प्रस्तुत गर्न आग्राह गर्दछौं। अन्यथा यसबाट उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवार स्वयम् नेकपा (एमाले) सिन्धुली हुने समेत हामी चेतावनी दिन चाहान्छौं” ।