
सिन्धुली, १ फाल्गुन । सिन्धुलीको मरिण गाउँपालिकाले अनाथ तथा द्धन्द्ध पिडित परिवारका छोराछोरीहरुलाई छात्रवृत्ति रकम वितरण गरेको छ ।
गाउँपालिकाले आज जनयुद्ध दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरेर बाल कक्षा देखि १२ कक्षा सम्म पढ्दै गरेका ७१ जना अनाथ तथा द्धन्द्ध पिडित परिवारका छोराछोरीहरुलाई छात्रवृत्ति रकम वितरण गरेको हो ।
बाल कक्षा देखि ३ कक्षा सम्म पढ्दै आएका २४ जना बालबालिकाहरुलाई ५ हजारका दरले, कक्षा ४ र ५ मा पढ्दै आएका १० जना बालबालिकालाई ६ हजारका दरले, ६ देखि ८ कक्षाका २१ जना बालबालिकाहरुलाई ८ हजारका दरले छात्रवृत्ति रकम वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
९ र १० कक्षामा पढ्ने १२ जना बालबालिकाहरुलाई ९ हजार, ११ र १२ कक्षामा पढ्ने ४ जना बालबालिकाहरुलाई ११ हजारका दरले छात्रवृत्ति वितरण गरिएको मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान(प्रख्यात)ले बताउनुभयो ।
अनाथ तथा द्धन्द्ध पिडित परिवारका छोराछोरीहरुको पढाईलाई निरन्तर गराउन मरिण गाउँपालिकाले बर्षेनी छात्रवृत्ति वितरण गर्दैआएको छ ।
छात्रवृत्ति रकम वितरण गर्दै बागमती प्रदेशसभा सदस्य मातृका भट्टराईले मरिण गाउँपालिकाको विकासमा सहिदहरुको अमूल्य योगदान रहेको बताउनुभयो ।
मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान(प्रख्यात)ले सच्चा सहिदहरुले बगाएको रगतले संघिय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनेको बताउनुभयो ।
मरिण गाउँपालिकाका उपाध्यक्ष विमला माझीले अहिलेको देशको व्यवस्था ल्याउन निस्वार्थ बलिदान गर्ने सहिद सहिदका परिवारहरुलाई सधैँ सम्मान गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा मरिण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जी, सात वटै वडाका वडाअध्यक्षहरु, विभिन्न राजनितिक दलका नेताहरु, कार्यपालिका सदस्य, सहिदका परिवार, अनाथ तथा द्धन्द्ध पिडित परिवारका बालबालिकाहरु लगाएतको उपस्थिती रहेको थियो ।