सिन्धुली, १२ भदौं । सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर १ को दुर्गम भदौरे चुक्टेमा घरघरमा खानेपानी धारा बनेपछि स्थानियबासी हर्षित भएका छन् । घण्टौ धाएर कुवाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेपछि स्थानियबासी हर्षित भएका हुन् ।
मरिण गाउँपालिकाको साझेदारी, नेपाल स्वास्थ्यको लागि पानी (नेवा) र च्यारिटी वाटरको सहयोगमा भदौरे चुक्टे खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको हो ।
मरिण गाउँपालिकाको २२ लाख २२ हजार ७७३, नेवाको ५५ लाख २३ हजार, ४४८, जनश्रमदान १७ लाख ८९ हजार ७७५ गरी कुल ९५ लाख ३६ हजार लागतमा एक घर एक धारा अन्तर्गत भदौरे चुक्टेका ५९ घरधुरी र एउटा सामुदायिक विद्यालय गरी ६० वटा खानेपानी धारा र ट्याङ्की निर्माण भएको छ ।
नवनिर्मित खानेपानी आयोजनाको हिजो मंगलवार एक कार्यक्रमका बिच मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले उद्घाटन गरेसँगै धारामा खानेपानी झर्न सुरु भएको छ ।
बिजुली ग्रिड लिफ्ट प्रविधिमा धारापानीको मुहानबाट भदौंरे गाउँमा र डोटे मुहानबाट चुक्टे गाउँमा खानेपानी वितरण गरिएको मरिण गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष हिरा बहादुर गुर्मछानले बताउनुभयो ।
खानेपानी धाराको उद्घाटन गर्दै मरिण गाउँपालिका अध्यक्ष मुक्तानले दुर्गम गाउँमा खानेपानी सुविधा उपलब्ध भएपछि आफँु निक्कै हर्षित भएको बताउनुभयो ।
अध्यक्ष मुक्तानले भदौंरे र चुक्टेमा बाँकी ठाउँमा छिट्टै बिजुली विस्तार हुने बताउदै प्रत्येक घरमा बिजुली र खानेपानी सुविधा पु¥याउने आश्वसन दिनुभयो ।
एसईई पछिको पढाईका लागि वडा नम्बर १ बाट कपिलाकोट माध्यमिक विद्यालय छाप जानुपर्ने बाध्यतालाई अन्त्य गर्न यसै बर्षबाट मावि कार्तिकेमै कक्षा ११,१२ को पढाई सुरु गरिएको अध्यक्ष मुक्तानले बताउनुभयो ।
कार्तिकेमै बर्थिङ सेन्टर संचालनको लागि भवन निर्माणमा बजेटको व्यवस्था समेत गरिएको अध्यक्ष मुक्तानको भनाई छ । वडा नम्बर १ सम्म पुग्ने सडकहरुलाई विस्तारै पक्की र व्यवस्थित बनाउदै लैजाने अध्यक्ष मुक्तानले प्रतिबद्धता जनाउनुभएको छ ।