हरिहरपुरगढी गाउँपालिकाका बाढी प्रभावितहरुलाई आज राहत वितरण

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, १७ असोज । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका बाढी प्रभावितहरुलाई आज राहत वितरण गरिएको छ ।

गएको असोज ११ र १२ गते परेको अविरल बर्षाको कारण बागमती नदीमा आएको बाढीले घर पूर्णरुपमा क्षति भएको हरिहरपुरगढी गाउृँपालिकाको ११ घर परिवारलाई राहत वितरण गरिएको हो ।

जिल्लामा क्रियासिल विभिन्न गैरसरकारी संस्थाहरूले जिल्ला विपद व्यवस्थापन समितिको रोहवरमा एकद्धार विधिबाट बाढी पिडितहरूलाई राहत वितरण गरिएको सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणी फुयालले बताउनुभयो ।

राहतमा एक परिवार बराबर २५ केजी चामल, दाल,नुन,तेल,चिनी, गैर खाद्यान्न सामाग्रीमा ५ जनाको परिवारलाई पुग्ने भाडाकुडा, लत्ताकपडा, ओड्नेओछ्याउने, म्याट लगाएतका सामाग्रीहरू रहेको सहायक प्रजिअ फुयालले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाईटीले उपलब्ध गराएको गैर खाद्यान्नका सामाग्री, रिलिफ नेपाल र हेन्डस नेपालले उपलब्ध गराएको गैरखाद्यान्न सामाग्रीहरू हरिहरपुरगढी गाउँपालिकाका बाढी पिडितहरूलाई वितरण गरिएको सहायक प्रजिअ फुयालले बताउनुभयो ।

राहत वितरण कार्यक्रममा बागमती प्रदेश सरकारका पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ, बागमती प्रदेशसभा सदस्य सुष्पा भुजेल, हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबा, विभिन्न वडाका वडाअध्यक्षहरु लगाएतको उपस्थिती रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्