सिन्धुली १३ मंसिर । सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ६ र ७ जोड्ने आरूबोटे खोलामा पक्की पुल निर्माण कार्य सुरू भएको छ ।
आज एक कार्यक्रमका बिच प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन) ले शिलान्यास गरेसँगै पक्की पुलको निर्माण कार्य सुरू भएको हो ।१६ मिटर लम्बाइ रहेको पक्की पुल निर्माणको ठेक्का सारस जि.एस.सी, श्रीकृष्ण जेभीले लिएको छ । बागमती प्रदेश सरकारको कुल २ करोड २१ लाख ७२ हजार ३३० रूपैयाँ लागतमा पुल निर्माण सम्पन्न गर्ने गरि ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरेको छ ।
शिलान्यास भएको पुल मझुवा – गौखर्क –आरूबोटी – सार्कीछाप – अमारे ग्रामीण सडक खण्ड अन्तरगत पर्दछ । पुलको शिलान्यास गर्दै प्रतिनिधिसभा सदस्य दाहालले गुणस्तरीय निर्माण सामाग्रीको प्रयोग गरेर सम्झौता अबधि भित्रै पुल बनाई सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभयो ।
पुल जति चाडो बन्यो त्यति नै चाडो जनतालाई आउजाउ गर्न सहज हुने भन्दै सांसद दाहालले तिव्रताका साथ पुल निर्माण गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्नुभएको । पुल उद्घाटन भएर निर्माण कार्य सुरूभएपछि वडा नम्बर ६ र ७ स्थानीय हर्षित भएका छन् ।
आरूबोटे खोलामा पक्की पुल निर्माण सम्पन्न भएपछि वडा नम्बर ७ का स्थानीयलाई गाउँपालिका कार्यालयसँगै अन्य ठाउँ जान र वडा नम्बर ६ को माथिल्लो भेगका स्थानीयलाई सदरमुकाम सिन्धुलीमाढी लगाएत अन्यत्र बाह्रै महिना आउजाउ गर्न सहज हुने वडा नम्बर ७ का स्थानीय चिरञ्जीवी दाहालले बताउनुभयो ।
पुल उद्घाटन कार्यक्रममा सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल, ५ नम्बर वडा अध्यक्ष सुरथ कुमार बसेल, ६ नम्बर वडा अध्यक्ष महेन्द्र बहादुर थापा, विभिन्न राजनिती दलका नेता, स्थानीय लगाएको उपस्थिति रहेको थियो ।