
सिन्धुलीको सुनकोशी गाउँपालिकाले नेतृत्व तहमा रही अग्रणी भूमिका निर्वाह गर्नुहुने महिला व्यक्तित्वहरूलाई सम्मान गरेको छ । ११५ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिला जनप्रतिनिधिहरू, कर्मचारीहरू, स्वास्थ्यकर्मीहरू र शिक्षकहरूलाई सम्मान गरेको हो ।
“सवै महिला तथा बालिकाको लागिः अधिकार, समानता, र सशक्तिकरण“ भन्ने मूल नाराको साथ आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन)ले नेतृत्व तहमा रही अग्रणी भूमिका निर्वाह गर्नुहुने महिलालाई सम्मान पत्र र दोसल्लाले सम्मान गर्नुभएको छ ।
गाउँपालिकाले सिन्धुली जिल्लाबाट संघ,प्रदेश र स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरू, पालिकाका महिला कर्मचारीहरू, महिला प्रधानाध्यापक र सामाजिक संघ संस्थाको मुख्य भुमिका रहेर काम गरि रहेका व्यक्तिहरूलाई सम्मान गरेको हो ।
नेतृत्व तहमा रही अग्रणी भूमिका निर्वाह गर्ने महिलाहरूको योगदानको कदर गर्दै थप हौसला बढाउन र अरू महिलाहरूमा प्रेरणा जगाउन सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
सुनकोशी गाउँपालिकाका अध्यक्ष दीपा बोहराको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन), प्रदेश सभा सदस्य सुष्पा भुजेल, जिल्ला समन्वय समितिका उप–प्रमुख शान्ता कार्की, कमलामाई नगरपालिकाका उप–मेयर मन्जु देवकोटा, सुनकोशी गाउँपालिकाका उपाध्यक्ष कपिल कुमार कोइराला, सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न पार्टीका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, प्रहरी , शिक्षकहरु, सबै शाखाका कर्मचारीहरु, र विभिन्न विद्यालयका विद्यार्थी भाई बहिनीहरु लगाएत महिला दिदिबहिनीहरूको सहभागीता रहेको थियो ।