सुनकोशी गाउँपालिकाको आ.व. २०८२÷०८३ को निति तथा कार्यक्रम पारित

सिन्धुली प्रेस
  • ख-
  • ख+

बुद्ध नेपाली
सिन्धुली, २ असार । सिन्धुलीको सुनकोशी गाउँपालिकाको आर्थिक बर्ष २०८२÷०८३ निति तथा कार्यक्रम पारित भएको छ ।
आइतबार सुनकोशी गाउँपालिकाको दोस्रो गाँउसभाको १७ ओैं अधिबेशनको ३५ ओैं बैठकमा गाँउपालिकाका अध्यक्ष दिपा वोहोरा दाहालले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो ।


गाउँपालिकाले कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी सिर्जना, पर्यटन, दिगो पूर्वाधार विकास, वातावरण संरक्षण लगाएतका क्षेत्रलाई बढी प्राथमिकता दिएर आगामी बर्षको निति तथा कार्यक्रम ल्याएको छ ।


कृषिमा आत्मनिर्भर बनाई समृद्ध सुनकोशी गाउँपालिका बनाउने, सहकारी र वित्तिय क्षेत्रलाई उत्पादन र उत्पादकत्व बढाउन परिचालन गरिने आगामी आर्थिक बर्षको निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।


घरमै रोजगारी गोठमै व्यापार हुने अवस्थाको सिर्जना गर्ने, सबै नागरिकहरुमा निःशुल्क रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने, गुणस्तरीय शिक्षाको ग्यारेन्टी गर्ने, समाजमा व्याप्त कुरीति र कुसंस्कारको अन्त्य गर्दै विभेद र असमानतालाई हटाइ सामाजिक न्याय कायम गर्ने बिषय निति तथा कार्यक्रममा समेटिएका छन् ।


दिगो सुरक्षित र भरपर्दो पक्की सडक भएको सफा र हराभरा गाउँपालिका निर्माण गर्ने, सबै नागरिकहरुमा एक घर एक धारा सहितको स्वच्छ र सफा खानेपानी वितरण गर्ने, गाउँपालिकाको आन्तरिक स्रोतको वृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख हुने निति पनि सुनकोशी गाउँपालिकाले लिएको छ ।


नागरिकहरुमा छिटो छरितो सरल र सहज तरिकाले प्रभावकारी सेवा प्रवाह गर्ने र सुशासन कायम गर्ने निति तथा कार्यक्रममा उल्लेख छ ।
“कृषिमा आत्मनिर्भरता, गाउँपालिकाको समृद्धि“ नारालाई अगाडी बढाउँदै एक वडा एक उत्पादन कार्यक्रमलाई अभियानकै रुपमा निरन्तरता दिइ संचालन गरिनेछ । कृषि क्षेत्रको सुदृढीकरणका लागि सरकारी गैर सरकारी संघ संस्थाहरुसँग समन्वय र सहकार्य गरिने गाउँपालिकाले निति बनाएको छ ।


अर्गानिक तरकारीमा आत्मनिर्भर गाउँपालिका निर्माणका लागि “एक घर एक करेसावारी निर्माण गर्ने कार्यक्रममा खेति योग्य जमिन नभएका किसान परिवारलाई समावेश गरिने निति तथा कार्यक्रममा उल्लेख छ ।
“सजिब माटो जैविक विविधता संरक्षणको बाटो“ भन्ने कुरालाई आत्मसात गर्दै प्राङ्गारिक कृषिलाई प्रवर्दन गर्ने कार्यक्रम संचालन गरिनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्