
सिन्धुली, २७ माघ । सिन्धुलीमा राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सव आयोजना हुने भएको छ ।
सिन्धुली जिल्ला खेलकुद विकास समितिको आयोजना र जिल्ला समन्वय समिति सिन्धुलीको समन्वयमा आगामी फागुन ५ देखि १३ गते सम्म सिन्धुलीमाढीमा प्रतियोगिता सञ्चालन हुनेछ । सिन्धुली जिल्ला खेलकुद विकास समितिले आज पत्रकार स्रम्मेलन गरेर राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सवको आयोजनाको बारेमा जानकारी गराएको हो ।
खेलकुद महोत्सवमा जिल्लाका ९ वटै पालिकाका खेलाडीहरूले सहभागीता जनाउने सिन्धुली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विशाल थिङ तामाङले जानकारी दिनुभयो ।
प्रतियोगितामा राष्ट्रपति रनिङ शिल्डमा हुने खेलहरु कराते, एथ्लेटिक्स, भलिबल, फुटबल, कबड्डी, तेक्वान्दो, क्रिकेट, ब्याडमिन्टन, म्याराथन र बक्सिङ खेलहरुमा १ हजार ३ सय ४३ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने महोत्सव आयोजक समितिका सदस्य दिपेन्द्रध्वज बस्नेतले जानकारी दिनुभयो ।
सिन्धुली जिल्लामा रहेको खेलाडीहरुको पहिचान गर्न, नयाँ खेलाडीहरु उत्पादन गर्न र प्रदेश तथा राष्ट्रिय स्तरमा हुने प्रतियोगितामा जिल्लाको प्रतिनिधित्व गर्न सक्ने खेलाडीको खोज गर्न खेलकुद महोत्सव आयोजना गर्न लागिएको सिन्धुली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष थिङले बताउनुभयो ।