सिन्धुली, चैत्र ३० गते ।
सिन्धुलीको कमलामाई नगरपालिकाको खुल्लामञ्चमा पर्यटन, सांस्कृतिक, व्यापार र फुड फेस्टिभल सञ्चालन हुने भएको छ । ब्रदरहुड इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट प्रालिले सिन्धुलीको खुल्लामञ्चमा बैशाख ११ देखि २१ गतेसम्म पर्यटन, सांस्कृतिक, व्यापार, उद्योग तथा फुड फेस्टिभलु आयोजना गर्ने भएको हो ।
शनिबार कमलामाई नगरपालिका-६ रातमाटामा आयोजित पत्रकार सम्मेलनमा संयोजक कविराज सुनुवारले फेस्टिभलको जानकारी गराएको हो । फेस्टिभलमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, सिन्धुलीको पहिचान झल्काउने स्थानीय उत्पादनको प्रदर्शनी, नेपाली र अन्तर्राष्ट्रिय खानाका स्टल, स्थानीय गन्तव्यहरूको प्रचारप्रसार, बालबालिकाका लागि खेलकुद र मनोरञ्जनका गतिविधिहरू हुनेछन्।
सुनुवारको अनुसार फेस्टिभलको उद्देश्य जिल्लामा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन तथा स्थानिय परिकारको प्रचारप्रसार गर्नु हो। फेस्टिभलमा २५ हजारभन्दा बढी दर्शक आउने र ७५ लाख खर्च लाग्ने अनुमान गरिएको ब्रदरहुड इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट प्रा लि सिन्धुली को म्यानेजिङ डाइरेक्टर आश्विन जंग थापाले बताउनु भयो।
फेस्टिभलमा सामान्य व्यक्तिलाई ८० रुपैयाँ टिकट शुल्क लाग्नेछ भने विद्यार्थीका लागि ५० रुपैयाँ र अपाङ्ग तथा वृद्धवृद्धालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । फेस्टिभल बिहान १० बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुनेछ।
