सिन्धुली, २३ भदौं । सिन्धुलीको दुधौली नगरपालिकामा बसको ठक्करबाट पैदल यात्रीको घटना स्थलमै मृत्यु भएको छ । अरु दुई जना घाईते भएका छन् ।
दूधौली नगरपालिका–१३ बस्ने ५२ वर्षीय समरबहादुर तामाङलाई बसले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
हिजो शुक्रवार भएको घटनामा दूधौली अरुणठाकुरको ग्रामिण सडक खण्डमा जल्किेनेबाट दूधौली जाँदै गरेको प्रदेश १–०५–००१ ह ०१८३ को अटोलाई त्यही दिशाबाट आउँदै गरेको बा ४ ख ५१३० नम्बरको कमलामाई बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा बस अनियन्त्रित भइ पैदल यात्री तामाङलाई लागेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक केशव कटुवालले जानकारी दिनुभयो ।
सिन्धुली दूधौली नगरपालिका– १३ का ५० वर्षीय अटो चालक सोनिलाल तामाङ र अर्का दूधौली नगरपालिका– १३ कै संगिता मोक्तान सामान्य घाइते भएका छन् ।
उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । पैदल यात्रीको मृत्यु भएपछि मृतकका आफ्न्तहरुले क्षतिपुर्तिको माग गरी बाटो अवरुद्ध गरेका थिए ।
स्थानिय जनप्रतिनिधिहरु, पिडित पक्ष, बोर्डिङ स्कुलका पिन्सिपल सहितको छलफलले पिडितलाई क्षतिपूर्ति दिने सहमती भएपछि शव पोष्टम्याटम गरिएको प्रहरीले जनाएको छ ।